सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा : सिरहा कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।

कारागारको अनुशासन उल्लंघन गर्दै अशान्ति फैलाउन खोजेपछि आज बिहानै प्रहरीले 'अप्रेसन' चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।  

 दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए। 

उनले घटनाबारे स्पष्ट पार्दै भने, “कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो । थप झडप हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ। उनीहरूलाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरणको तयारी भइरहेको छ।”

यसअघि गत माघमा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। सो समयमा इन्द्रजितको पक्राउको विरोध गर्दै कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए। 

वैशाख ८, २०८३ मंगलबार १३:०९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।