‘दर्पण छायाँ’ फेम्ड उत्तम-निरुताको जोडीलाई लिएर ‘सारथी’ घोषणा
काठमाडौं : दुई दशकअघि नेपाली सिने नगरीमा तहल्का मच्चाएको ‘दर्पण छायाँ’को सुपरहिट जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ। अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई पुनः सँगै लिएर फिल्म ‘सारथी’ निर्माणको घोषणा गरिएको छ।
सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा विधिपूर्वक पूजा गर्दै फिल्मको शुभमुहूर्त गरियो। तर, फिल्मको मुख्य आकर्षण मानिएका उत्तम प्रधान भने मुहूर्तमा देखिएनन्। उनी अहिले सिक्किममै रहेको र छायांकनका लागि नेपाल आउने निर्माण पक्षले जानकारी दिएको छ।
मुहूर्तमा निरुता सिंहसहित अन्य कलाकार र प्राविधिकहरूको उपस्थिति रहे पनि उत्तमको अनुपस्थितिले फिल्म क्षेत्रमा थोरै चर्चाको विषय बनेको छ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मको निर्देशन कुमार गजुरेलले गर्दैछन्। फिल्ममा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको अभिनय रहनेछ।
नेपाली फिल्म क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ यस फिल्मबाट प्रस्तुतकर्ताको भूमिकामा छन्। सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने लाइन प्रोड्युसर आमिर के.सी. रहेका छन्।
निर्माण पक्षका अनुसार, फिल्मको छायांकन वैशाख १२ गतेदेखि म्याग्दीको रमणीय गुर्जा खानी क्षेत्रबाट सुरु हुँदैछ। मुहूर्त कार्यक्रममा वरिष्ठ व्यक्तित्वहरू लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
वैशाख ८, २०८३ मंगलबार १३:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।