फिलिम-लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक

फिलिम-लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम-लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ।

उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम-लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले मङ्गलबार आजदेखि खच्चड हिँडाउन बन्द गर्न लागिएको जानकारी दिए।

‘वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै पुनः सहज बनाइनेछ’, उनले भने।

चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता रहँदै आएको छ।

गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ।

वैशाख ८, २०८३ मंगलबार ०७:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।