तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ।
साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।
महाशाखाका अनुसार आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
वैशाख ८, २०८३ मंगलबार ०७:१७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।