राहदानीमा 'सर्त' लेख्ने दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

राहदानीमा 'सर्त' लेख्ने दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

काठमाडौं : संयुक्त अरब ईमिरेट्स (यूएई) जान लागेका नेपाली यात्रुको राहदानीमा अनावश्यक सर्त लेखेर छाप हान्ने दुई अध्यागमन अधिकृतलाई कारबाही गरिएको छ।  

अध्यागमन विभागले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाई छानबिन प्रक्रिया अघि बढाएको हो।

यूएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै "Employment is strictly prohibited. Visit till १०/६/२०२६" (रोजगारीमा पूर्ण प्रतिबन्ध, १० जुन २०२६ सम्मका लागि भ्रमण) लेखिएको भेटिएको थियो।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि नेपाली नागरिकलाई यसरी सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको प्रस्ट पारेका छन्।

‘प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भईरहेको व्यहोरा अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ। 

यस विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।

यो पनि: 

वैशाख ७, २०८३ सोमबार १४:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।