कुमार कट्टेल र दीपक आचार्यबीच फेरि सहकार्य, ‘चिरञ्जीवी भवः’ मा पुरानै नियति दोहोरिएला?

कुमार कट्टेल र दीपक आचार्यबीच फेरि सहकार्य, ‘चिरञ्जीवी भवः’ मा पुरानै नियति दोहोरिएला?

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सम्बन्धहरू कतिबेला बिग्रिन्छन् र कतिबेला सुध्रिन्छन्, पत्तै हुँदैन। यसको पछिल्लो उदाहरण हुन्, नेपाली हास्यटेलिश्रृंखला ‘भद्रगोल’हूँदै ‘सक्किगोनी’मा सहकार्य गर्दै आएका कुमार कट्टेल (जिग्री) र दीपकप्रसाद आचार्य (काकु)।

यसअघि फिल्म ‘लाज शरणम्’ को निर्माणका क्रममा यी दुईबीचको सम्बन्धमा ठूलो दरार आएको थियो। कुमारले आफ्नो दाजु सीताराम कट्टेल (धुर्मुस)लाई फिल्ममा मुख्य भुमिका दिएर सबै फिल्मको स्वामित्व आफैले राखेपछि काकु चिडिएका थिए। उनी चिडिएनन् मात्रै, काकुले ‘लाजशरणम्’बाट बाहिरिएर ‘परान’ नामक नयाँ फिल्म चलचित्र विकास बोर्डमा दर्ता गराएर आफ्नो छुट्टै यात्रा सुरु गरे।

सहकार्य गर्ने हिसावले सुरुवातदेखि नै कुमारसँग मिलेर काम र नाम खोजेका दीपक इखका साथ नयाँ फिल्म बनाउनतिर लागे। फलस्वरूप, दीपकको निर्देशनमा बनेको फिल्मले १८ करोडको व्यापार गर्दै वर्षकै हिट फिल्म बन्यो। यता कुमार कट्टेलको निर्देशनमा बनेको फिल्मलाई भने ६ करोडको आँकडा पनि पार गर्न मुस्किल पर्यो।

व्यावसायिक प्रतिस्पर्धाले निम्त्याएको यो दूरीलाई अन्ततः ‘परान’ को सफलता र त्यसपछिको बदलिएको परिवेशले फेरि नजिक ल्याएको छ। चिसिएको सम्बन्ध सुध्रिएसँगै यो जोडीले अहिले नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ को घोषणा गर्दै पुनः सहकार्यको हात मिलाएका छन्। निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीमा प्रशंसा रायमाझीलाई अनुबन्ध गरिसकेको छ। दीपक आचार्यकै निर्देशनमा रहने फिल्मको कथा भने कुमार कट्टेलले तयार पारेका छन्। लेखनको जिम्मा सविन अधिकारी र वसन्त न्यौपानेले पाएका छन्। 

अहिले यो फिल्म फ्लोरमा (सुटिङमा) गइसकेको छैन। ‘लाज शरणम्’ को समयमा जस्तै सहकार्यको बिचैमा फेरि स्वार्थ बाझिएर एक-अर्कालाई निकाल्ने र भित्र्याउने पुरानै नियति दोहोरिने त होइन? यद्यपि, विगतको तितो अनुभवबाट पाठ सिकेर यो जोडीले परिपक्व सहकार्य गर्दै उत्कृष्ट फिल्म पस्कने आशा पनि गरिएको छ।

यो सहकार्यले कस्तो रूप लिन्छ भन्ने कुराको वास्तविक टुङ्गो लाग्न भने फिल्मको छायांकन हुन्जेल कुर्नैपर्ने देखिन्छ।

वैशाख ७, २०८३ सोमबार १३:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।