‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री, घोषणा भएको दुई वर्षपछि सुटिङको तयारी

‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री, घोषणा भएको दुई वर्षपछि सुटिङको तयारी

काठमाडौं : विगत दुई वर्षअघि निर्माण घोषणा गरेको फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ।

निर्माण टिमले केकी अधिकारीलाई अनुबन्ध गरेको तीन दिन लगत्तै अर्की  अभिनेत्री पूजालाई पनि फिल्ममा भित्र्याएको हो।

पटक-पटक कलाकार परिवर्तन गर्दै र प्रदर्शन मिति सार्दै यो फिल्म लामो समयदेखि 'घोषणा' मा मात्र सीमित छ। यसअघि फिल्मका मुख्य कलाकार पल शाहलाई हटाएर पुष्प खड्कालाई राखिएको थियो। पछिल्लो समय पूजा र केकीसँगै अभिनेता हेमन्त बुढाथोकी पनि यस प्रोजेक्टमा जोडिएका छन्।

निर्माण पक्षले आगामी दसैँको फूलपातीलाई प्रदर्शन मिति तोकेको छ।। तर, अघिल्लो वर्षकै दसैँमा रिलिज गर्ने भनिएको फिल्मको सुटिङ नै भएन। 

निर्माण टिमका अनुसार फिल्मको छायांकन यही वैशाखको दोस्रो सातापछि सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा खिचिने बताइएको छ।

'पिरियड ड्रामा'को झल्को दिने यस फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कलाकारहरूको ठूलो समूह छ। फिल्ममा करिब ८० जना कलाकार रहने निर्माण पक्षले जनाएको छ।

यदि फिल्म तोकिएकै समयमा प्रदर्शन भएमा यसले बक्स अफिसमा आधा दर्जन फिल्मसाग भिड्नुपर्ने निश्चित छ। दसैँमा विराज भट्टको ‘१२ गाउँ २’, दीपेन्द्र लामाको ‘छ माया छपक्कै २’, अशोक शर्माको ‘डबल ट्रिपल’ र भुवन केसीको ‘बाटुलो जुन’ जस्ता ठूला फिल्महरू प्रदर्शन हुने तयारीमा छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको लेखन पनि निर्देशक परिच्छेद सेनले नै गरेका हुन्। फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् भने रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्टले लगानी गरेका छन्। 

वैशाख ७, २०८३ सोमबार १३:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।