विपिन ‘काजी’ बन्दा केकी बनिन् ‘कजिनी’, ‘मुनामदन’ जस्तै प्रेमकथा बनेको निर्देशकको दाबी

विपिन ‘काजी’ बन्दा केकी बनिन् ‘कजिनी’, ‘मुनामदन’ जस्तै प्रेमकथा बनेको निर्देशकको दाबी

काठमाडौं : नेपाली रजतपटका भर्सटाइल अभिनेता विपिन कार्की अब पर्दामा ‘काजी’को अवतारमा आउने भएका छन्।

आइतबार फिल्मको प्रिभ्यु भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘काजी’ आगामी जेठ ८ गतेदेखि देशभरका हलमा लाग्ने पक्का गरेको छ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा विपिनसँगै ‘कजिनी’ को रूपमा केकी अधिकारी देखिने भएकी छन्।

सार्वजनिक भिडियोमा विपिनलाई जुँगासहित पुरानै जमानाको रुबाबदार ‘काजी’ को भेषमा देख्न सकिन्छ। विपिनको यो लुक्स र फिल्मको नामले नै पुरानो कालखण्डको कथा भएको प्रष्टै देखिन्छ।

आफ्नो यो नयाँ अवतार र कथालाई लिएर मुख्य कलाकार विपिन र केकी दुवै निकै ‘एक्साइटेड’ देखिएका छन्। निर्माण पक्षका अनुसार ‘काजी’ एउटा विशुद्ध ‘क्लासिक लभस्टोरी’ हो।

अझ निर्देशक रिजालले त यसलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’ सँग दाँज्दै त्यस्तै उत्कृष्ट र मार्मिक प्रेमकथा पर्दामा उतारेको दाबी गरेका छन्। 

काजी र कजिनीको यो रोमान्टिक कथामा विपिन र केकी मात्र छैनन्, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी र विनोद न्यौपाने जस्ता चलेका कलाकारहरूको पनि बलियो साथ छ।

त्यस्तै रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बालकलाकार दिक्षिता अर्यालले पनि स्क्रिन सेयर गरेका छन्।

रामप्रसाद रिजालको प्रस्तुति तथा ‘रिजाल एण्ड रिजाल प्रोडक्सन’ को ब्यानरमा बनेको यो फिल्मको कथा हिट लेखक प्रदीप भारद्वाजले कोरेका हुन्। यसअघि ‘गणपती’ र ‘डिसेम्बर फल्स’ जस्ता फिल्म बनाएको यो टिमले यसपटक संगीतमा कालीप्रसाद बाँस्कोटालाई भित्राएको छ भने पार्श्व संगीत सुजिल कर्माचार्यले तयार पारेका छन्।

चिन्तन राजभण्डारीको क्यामेराले कैद गरेको यस फिल्ममा बनिश शाह र विपिन मल्लको सम्पादन तथा कविराज गहतराजको कोरियोग्राफी हेर्न पाइनेछ। असिम काफ्ले कार्यकारी निर्माता र नेहान रिजाल तथा विकास राज जोशी निर्माता रहेको ‘काजी’ लाई श्रीराम बालाजी फिल्म्सले देशभर वितरण गर्दैछ।

वैशाख ७, २०८३ सोमबार १०:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।