फिल्म फ्लप भएपछि म्युजिक भिडियोमा पनि 'महानायक'लाई झट्का, ३ दिनमा ६५ हजार भ्युज मात्र
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी राजेश हमाल र करिश्मा मानन्धरले पछिल्लो समयमा खेलेको म्यूजिक भिडियोले युट्युबमा अपेक्षित भ्यूज बटुल्न सकेको छैन्।
‘ढुकढुकी’, ‘वसन्ती’ र ‘मनमा माया’ जस्ता सुपरहिट फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई हालै सार्वजनिक भएको एक म्युजिक भिडियोमा भने खासै दर्शकले रुचि देखाएनन्।
निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको लोकदोहोरी गीत ‘नाच्छु रोधी घरैमा’ तीन दिनअघि ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको थियो। तर, महानायकको ट्यागसहित प्रस्तुत गरिएका हमाल र अभिनेत्री करिश्माको यो भिडियोलाई ६५ हजार पटक मात्र हेरिएको छ। भिडियोमा १८ सय लाइक र ११६ वटा कमेन्ट मात्र प्राप्त भएका छन्।
राजेश हमाललाई 'महानायक' र करिश्मालाई 'सदाबहार सुन्दरी' का रूपमा चिनिए पनि पछिल्लो समय उनीहरूको व्यावसायिक सफलता भने खस्कदो छ।
राजेश हमालको ओरालो लाग्दो करियरको चर्चा उनी अभिनित पछिल्लो फिल्म ‘प्रवासी जीवन’ बाटै सुरु भएको थियो। करोडौँको लगानीमा बनेको उक्त फिल्मले देशभरका हलहरूबाट मात्र एक लाख रुपैयाँको हाराहारीमा व्यापार गर्यो। फिल्मपछि म्युजिक भिडियोमा पनि हमालको जादु नचल्नुले ‘के दर्शकले हमाललाई पत्याउन छाडेका हुन्?’ भन्ने प्रश्न उब्जिएको छ।
पछिल्लो समय ‘स्टार’ भनिएका कलाकारहरूलाई महँगो पारिश्रमिक दिएर म्युजिक भिडियोमा खेलाउने प्रवृत्ति बढे पनि लगानी अनुसारको प्रतिफल (भ्युज) नआउँदा निर्माताहरू मारमा पर्ने गरेका छन्। महानायकको ट्याग भिरेका हमालको भिडियोले तीन दिनमा कम्तीमा ३–४ लाख भ्युज पाउनुपर्ने अपेक्षा गरिए पनि नतिजा निकै कमजोर देखिएको छ।
प्रतिक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको यस गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ।
भिडियोमा हमाल र करिश्मालाई पुरानै शैलीमा प्रस्तुत गरिए पनि समकालीन दर्शकले उनीहरुको जोडिलाई रुचाइएको देखिएन। यस्तो अवस्थामा हमालले आफूलाई कुन स्थानमा राख्ने र कस्ता प्रोजेक्ट छनोट गर्ने भन्नेमा गम्भीर हुनुपर्ने देखिन्छ।
वैशाख ६, २०८३ आइतबार १७:१८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।