एनओसी अब पूर्ण रूपमा ‘फेसलेस’, घरमै बसेर लिन सकिने
काठमाडौं : वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरमै बसेर वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन सक्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले आफ्नो सेवालाई पूर्ण रूपमा 'फेसलेस' र 'क्यासलेस' बनाएपछि यो सुविधा सम्भव भएको हो। यसका लागि एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।
यो व्यवस्था लागू गर्न एनओसी शाखाले वैशाख ४ गते त्रिविसँग औपचारिक सम्झौता गरेको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो। अब विद्यार्थीले अनलाइनमार्फत आवेदन दिएपछि सबै प्रक्रिया पूरा भएपश्चात् आफ्नो प्रमाणपत्र आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। प्रमाणपत्रमा क्यूआर कोड राखिने भएकाले यसको आधिकारिकता सजिलै जाँच्न सकिनेछ।
यसअघि, उच्च शिक्षा (स्नातकोत्तर वा सोभन्दा माथि) अध्ययनका लागि जान चाहने विद्यार्थीहरू प्रमाणपत्र रुजु गराउन भौतिक रूपमा सानोठिमीस्थित कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो। अब भने विद्यार्थीले अनलाइन आवेदनमा राखेको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा त्रिवि र केयूको प्रणालीबाटै विवरणहरू स्वतः रुजु हुनेछन्।
नागरिकताको विवरण गृह मन्त्रालयको प्रणालीबाट र विद्यालय तहको विवरण एनईबीको प्रणालीबाट पहिल्यैदेखि रुजु हुँदै आएको थियो।
सेवालाई थप सहज बनाउन राजस्व भुक्तानीलाई पनि पूर्ण रूपमा अनलाइन बनाइएको छ। महालेखा नियन्त्रक कार्यालयको राजस्व प्रणालीसँग समन्वय गरिएकाले विद्यार्थीले घरबाटै शुल्क तिर्न सक्नेछन्।
वैशाख ६, २०८३ आइतबार १७:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।