एमाले उपाध्यक्ष पौडेलको प्रश्न : वामपन्थी एकताको असान्दर्भिक चर्चा किन ?
काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले बेहोरेको पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठन नै एमालेको आजको प्राथमिक कार्यसूची भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले अहिलेको यथार्थबाट ध्यान मोड्नका लागि ‘वामपन्थी एकता’को असान्दर्भिक चर्चा चलाइएको टिप्पणी गरे। उनले पार्टीभित्रको पराजयको समीक्षा छोडेर पर्दाभित्रबाट भइरहेको एकताको छलफलप्रति प्रश्न उठाए।
पौडेलले लेखेका छन्, “नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो। यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?”
यसअघि एमाले नेता सुरेन्द्र पाण्डेले पनि सामाजिक सञ्जालमार्फत नेतृत्वको संकट र अस्तित्व जोगाउन वाम एकताको दौडधुप भइरहेको आरोप लगाएका थिए। त्यसलगत्तै शिक्षण अस्पतालमा उपचाररत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेपछि वाम एकताको चर्चा थप चुलियो।
सोही चर्चातर्फ लक्षित गर्दै उपाध्यक्ष पौडेलले निर्वाचनको समीक्षा र संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बेलामा पार्टीको ध्यान अन्यत्र मोड्ने उद्देश्यले पर्दाभित्रबाट वाम एकताको असान्दर्भिक चर्चा चलाइएको टिप्पणी गरे।
वैशाख ५, २०८३ शनिबार १७:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।