गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्।

नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ। 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा-काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए। नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए।

निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो।     

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए। उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ। 

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ। नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ-रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ। 

काठमाडौँबाट आइतबार बिहान ८:०५ बजे र रेसुङ्गाबाट बिहान ९:०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६:१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७:१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए। 

दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ। करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन्। 

सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ। गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो।

वैशाख ५, २०८३ शनिबार १४:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।