एमालेका घोषित आन्दोलन स्थगित

एमालेका घोषित आन्दोलन स्थगित

काठमाडौं : एमालेले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ। 

शुक्रबार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो।

साथै पार्टी स्थापना दिवसमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ। बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ।

बैठकले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।

वैशाख ४, २०८३ शुक्रबार २२:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।