गुण्डागर्दी रोक्न प्रहरी सक्रिय, एक हजार बढीको प्रोफाइल तयार

गुण्डागर्दी रोक्न प्रहरी सक्रिय, एक हजार बढीको प्रोफाइल तयार

काठमाडौं : काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दीमा संलग्न तथा संलग्न हुन सक्ने आशङ्का गरिएका एक हजार ९७ जनाको प्रोफाइल तयार पारेको छ। अनुसन्धान र निगरानीको दायरामा रहेका व्यक्तिहरूको पृष्ठभूमि सहितको विवरण समेटेर प्रोफाइल तयार पारिएको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले कुनै पनि घटनामा संलग्न भएका, संलग्न हुन सक्ने, उजुरी परेका, प्रहरी रेकर्डमा रहेका र आशङ्का गरिएका व्यक्तिहरूलाई समेटेर प्रोफाइलिङ गरिएको बताए।

उनले भने, "कुनै पनि घट्नामा संलग्न भएका,संलग्न हुनसक्ने, उजुरी परेका, रेकर्डमा रहेका र आशंका गरिएका र हाम्रो अनुसन्धानको दायरामा रहेका एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरेको छौं।"

परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ। असोजदेखि चैत्रसम्म ५ हजार ५ सय ६६ वटा मुद्दाहरू दर्ता भएको र त्यसमध्ये ४ हजार २ सय ७९ व्यक्तिहरू पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा रहेको भट्टराईले जानकारी दिए।

उनले भने, "५ हजार ५ सय ६६ वटा मुद्दाहरू दर्ता भएका छन्। त्यसमध्ये ४ हजार २ सय ७९ व्यक्तिहरू पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा हुनुहुन्छ। काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै दैनिक ५० देखि ५५ वटा जायरीहरु लिएर अनुसन्धान सुरु गरेको छ।"

त्यस्तै उनले काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्ये साइबर क्राइम भएको भन्दै यस अवधिमा १३ सय ३० वटा उजुरी प्राप्त गरेको बताए। भट्टराईले भने, "काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्ये एउटा साइबर क्राइम हो । यस अवधिमा हामीले १३ सय ३० वटा उजुरी प्राप्त गरेको छौं । अनलाइन सपिङमा ठगी सबैभन्दा ठूलो छ।"

उनको अनुसार घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको छ। पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी आएको उनले जानकारी दिए। भट्टराईले भने, "पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो। तर हामी कहाँ पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको छ। यस अवधिमा काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी दिएका छन्।"
 

वैशाख ४, २०८३ शुक्रबार २१:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।