राहदानीमा ‘सर्त’ लेख्ने अध्यागमनका कर्मचारीमाथि कारबाही प्रक्रिया सुरू
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली यात्रुको राहदानीमा अनावश्यक सर्त लेखेर केरमेट गर्ने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
अध्यागमनका कर्मचारीले यात्रुको राहदानीमा प्रस्थान छापसँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited’, ‘Visit till...’ र ‘Not allowed to work UAE’ जस्ता शब्दहरू लेख्न थालेपछि यात्रुहरूले विरोध गरेका थिए।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको आलोचना भएपछि विभागले आन्तरिक छानबिन सुरू गरेको हो।
विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नभएको प्रस्ट पारेका छन्।
‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको छ’, विज्ञप्तिमा भनिएको छ।
भिजिट भिसामा जान के चाहिन्छ?
अध्यागमनले भिजिट भिसामा विदेश जाने प्रक्रियालाई सरकारले यसअघि नै सरलीकृत गरिसकेको स्मरण गराएको छ।
जसअनुसार कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा आवश्यक पर्छ।
यी कागजात भएमा यात्रुले ‘स्वघोषणा’ फारम भरेर सहजै विदेश जान पाउने व्यवस्था छ। अनावश्यक कागजात माग गर्ने र कर्मचारीको तजबिजीका आधारमा निर्णय गर्दा हुने अनियमितता रोक्न यस्तो सरल मापदण्ड बनाइएको विभागले जनाएको छ।
नागरिकको वैदेशिक यात्राको बाध्यतालाई भजाएर हुने ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासन प्रतिबद्ध रहेको भन्दै विभागले यात्रुहरूलाई मर्का पर्ने कुनै पनि कार्य नगर्न कर्मचारीहरूलाई सचेत गराएको छ।
वैशाख ३, २०८३ बिहीबार १३:२४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।