तराईमा अत्यधिक गर्मी तथा कोशी, बागमती र गण्डकीका उच्च भेगमा वर्षा र हिमपात हुने

तराईमा अत्यधिक गर्मी तथा कोशी, बागमती र गण्डकीका उच्च भेगमा वर्षा र हिमपात हुने

काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बिहीबार देशको मौसममा मिश्रित प्रभाव देखिने भएको छ।

देशका पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना छ भने तराईका भूभागमा अत्यधिक गर्मी (तातो दिन) हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भेगमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ।

बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ। 

यसैगरी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा आज अत्यधिक गर्मी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा तापक्रम बढ्ने भएकाले घामको असर र गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वैशाख ३, २०८३ बिहीबार ०८:५६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।