पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। 

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले इजलासले यस्तो आदेश दिएको हो।

अदालतले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट खड्कालाई थुनामा राख्नु पर्ने कारण सहितको लिखित जवाफ र म्याद थप सम्बन्धी सम्पूर्ण कागजातहरू समेत बुझाउन आदेश दिएको छ। यी कागजातहरू २०८३ वैशाख ३ गते दिउँसो १२ बजेसम्ममा अदालतमा प्राप्त हुने गरी पठाउन आदेश दिइएको छ।

सोही दिन (वैशाख ३ गते) का लागि अर्को पेसी समेत तोकिएको छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले निवेदकलाई हालकै अवस्थामा (यथास्थितिमा) राख्न निर्देशन दिएको छ।

‘निज निवेदकलाई हाल जे जुन अवस्थामा राखिएको छ... यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ। नियमानुसार गर्नू ,' आदेशमा भनिएको छ। 

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई चैत १५ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको थियो। गत भदौ २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा उनको घरबाट बरामद भएको शंकास्पद रकमबारे अनुसन्धान गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

वैशाख २, २०८३ बुधबार १६:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।