‘यात्रा’पछि हराएका सलिनमान आठ वर्षपछि पर्दामा फर्किँदै

‘यात्रा’पछि हराएका सलिनमान आठ वर्षपछि पर्दामा फर्किँदै

काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीमा एउटा भनाइ निकै चल्तीमा छ- कोही रहरले आउँछन्, कोही लहडमा हराउँछन्।

झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ बाट चकलेटी लुक्ससहित इन्ट्री मारेका सलिनमान बनियाँको कथा पनि ठ्याक्कै त्यस्तै भयो।

पहिलो फिल्म हिट भएपछि उनका फ्यान फलोइङ रातारात चुलियो। तर, दोस्रो फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ बक्स अफिसमा डुबेपछि उनी पनि एकाएक दृश्यबाट गायब भए।

न फिल्ममेकरको नजरमा परे, न कुनै फिल्मी इभेन्टमा देखिए। धेरैले त उनलाई ‘रहरे कलाकार’को ट्याग दिँदै ’आयो, हरायो’ भन्नसमेत भ्याए।

तर, फरक लुक्स र स्टाइलका कारण युवापुस्तामाझ क्रेज बनाएका सलिनमानले आठ वर्ष लामो मौनता तोड्दै फेरि पर्दामा फर्किने संकेत गरेका छन्।

नयाँ वर्ष २०८३ को पहिलो दिन (वैशाख १ गते) उनले सामाजिक सञ्जालमा एउटा आकर्षक तस्बिरसहित अर्थपूर्ण स्ट्याटस राख्दै फ्यानहरूलाई सरप्राइज दिएका हुन्।

साहित्यिक भावमा लेखिएको उनको स्ट्याटसले धेरैको ध्यान तानेको छ। उनले लेखेका छन्, ‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनतापछि, नयाँ वर्षले केही पुराना रङहरू फेरि जिउँदो पार्न खोज्दैछ।’

यो स्ट्याटससँगै उनी कस्तो प्रोजेक्टबाट फर्किँदैछन् भन्ने कौतूहल बढेको छ। भित्री बजारको हल्लाअनुसार उनी आफ्ना मिल्ने साथी तथा अभिनेता सलोन बस्नेतसँगको सहकार्यमा नयाँ फिल्मको तयारीमा जुटेका छन्।

तर, सलिनमानले बुझ्नुपर्ने कुरा के छ भने अहिले बक्स अफिसको माहोल बदलिएको छ। ‘मै हुँ’ भन्ने स्टारका फिल्मले समेत पानी भन्न नपाएको अवस्थामा आठ वर्षपछिको कमब्याक पक्कै सजिलो छैन।

यदि उनले आफ्नो अभिनय र स्टाइलमा निखार ल्याएर मेहनतका साथ काम गरे भने उनको यो नयाँ ‘यात्रा’ पक्कै दरिलो हुनेछ। होइन भने, यो ‘कमब्याक’ पनि फिक्का नहोला भन्न सकिन्न।

वैशाख २, २०८३ बुधबार १४:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।