तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
जनकपुर : तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ। बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ।
तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ। माटोले शरीरलाई शितल बनाउने र अन्य पोषण प्रदान गर्ने विश्वासका साथ आजको दिन माटो खेल्ने गरिन्छ। जनकपुरधाममा आजको दिनलाई विशेष उत्सव झैं मनाईन्छ। जनकपुरधामका विभिन्न पोखरी, ताल तलैयाहरुमा स्थानीयहरु जम्मा भएर एक अर्कालाई आर्शिवाद दिनुका साथै माटो दलेर जुडशितल मनाउने गर्छन। सोही क्रममा आज प्रतिनिधिसभा सदस्य रास्वपाका प्रवक्ता मनिष झाले पनि जनकपुरधामको अरगज्जा पोखरीको डिलमा माटो खेलेका छन्।
जनकपुरधामका स्थानीय तथा विशिष्ट व्यक्तिहरुको उपस्थितीमा उनले माटो खेलेका छन्। उनले मिथिलाका परम्परा र पर्व प्रत्यक्ष प्रकृतिसंग जुडेको हुनाले आज दिन विशेष रहेको बताए।
उनले जुडशितल पर्वमा कुनै जातजाती, लिंङ्ग, धर्मबीच भेदभाव नगरी सबैले एक अर्कासंग माटो खेलेर माया साट्ने बताए।
जुडशितलको दिन तराई मधेशमा विशेष परिकार (करही, तरुवा, सोइजनको तरकारी, दही) खाने परम्परा रहेको छ।
वैशाख २, २०८३ बुधबार १०:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।