जुँगा पालेकी पूजासँग विजय बरालको ‘रत्यौली’!
काठमाडौं : सधैँ रोमान्टिक ‘लभर गर्ल’को अवतारमा देखिने नायिका पूजा शर्मा र आफ्नो गज्जबको अभिनयले दर्शकको मन जित्ने विजय बराल अब एकसाथ पर्दामा रोमान्स गर्दैछन्।
हो, नयाँ वर्षको छेको पारेर पूजाले नयाँ फिल्म ‘रत्यौली’ घोषणा गरेकी छन्, जहाँ पहिलो पटक विजय बरालसँग स्क्रिन सेयर गर्दैछिन्।
सार्वजनिक फिल्मको पोस्टरमा पूजा टिपिकल हिरोइनको अवतारमा छैनन्, बरु चट्ट दौरा-सुरुवाल, नेपाली टोपी र ओठमा जुँगा पालेर विजयसँगै छमछमी नाचिरहेकी छन्।
अब कुरा गरौँ पर्दा पछाडिको। पूजा शर्मा प्रोडक्सन र नाईटिङ्गेल ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बन्न लागेको यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्।
तर, फिल्मलाई झन् बलियो बनाउने नाम हो- निर्माता सुरज आचार्य। जोसँग बलिउडका ‘उचाई’, ‘फर्जी’ जस्ता ठूला प्रोजेक्टदेखि सयभन्दा बढी नेपाली फिल्ममा काम गरेको ३२ वर्ष लामो तगडा अनुभव छ।
यसअघि ‘मेरो लभ स्टोरी’ र ‘वरमाला’ जस्ता फिल्ममा लगानी गरिसकेका सुरज यसपटक ‘रत्यौली’को मेकिङमा अगाडि सरेका हुन्।
अहिलेसम्म फिल्मको भित्री कथा भने गोप्य नै राखिएको छ। तर, सधैँ चकलेटी हिरोसँग पर्दामा देखिने पूजा र विशुद्ध क्यारेक्टरमा बाँच्ने विजयको यो ‘अनम्याच तर फ्रेस’ जोडीले दर्शकलाई कस्तो स्वाद देला? त्यो भने समयले नै बताउला!
वैशाख २, २०८३ बुधबार ०९:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।