अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौं महानगरपालिका-११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ।
गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो। खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिएकी थिइन्।
उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको भन्दै प्रचलित कानुनअनुसार उत्पादन रोकेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो।
यसैबीच, मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गर्ने स्पष्ट पारिन्।
वैशाख १, २०८३ मंगलबार १८:३९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।