झापाका दुई उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति

झापाका दुई उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति

झापा : झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ।

आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आज बिहान करिब ४:१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो।

आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको प्रहरी टोली, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयको सहयोगमा केहीबेर अघि आगो निभाइएको छ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख १, २०८३ मंगलबार १०:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।