नयाँ वर्षमा विराज भट्ट भर्सेस तुलसी पुत्री पञ्चमी !
काठमाडौं : नेपाली फिल्म क्षेत्रको हावा अचेल फेरिएको छ। दर्शक स्मार्ट भएका छन्, प्रविधि हाइटेक भएको छ अनि फिल्ममा नयाँ अनुहारको त लर्को नै लाग्ने गरेको छ।
कोही आउँछन्, रातारात हिट हुन्छन् त कोही पहिलो फिल्मबाटै गुमनाम हुन्छन्। यही भिडमा अब नयाँ वर्ष (वैशाख १) को छेको पारेर एउटा नयाँ अनुहारको उदय हुँदैछ- पञ्चमी घिमिरे।
नाम सुन्दा नयाँ लागे पनि उनी नेपाली फिल्मका ‘लिजेन्ड’ निर्देशक तुलसी घिमिरेकी छोरी हुन्। बाबुकै कथा र निर्देशनमा बनेको फिल्म ‘पहाड’बाट पञ्चमीले हिरोइनको रूपमा डेब्यु गर्दैछिन्।
पहाडको कथा र पानीको मर्म बोकेको यो फिल्मले बाबुको ‘लिगेसी’ जोगाउँदै पञ्चमीलाई कत्तिको उचाइ देला? त्यो त भोलिको बक्स अफिसले नै बताउला।
तर, रिलिजअघि नै ‘पहाड’को प्रिमियरले भने गज्जबको चर्चा बटुलेको छ। आइतबार सिटी सेन्टरको बिग मुभिजमा भएको प्रिमियर शोमा फिल्म क्षेत्रका हस्तीहरूको ‘जम्बो टोली’नै ओइरियो।
भुवन केसी, नीर शाह, दीपाश्री निरौलादेखि आकाश अधिकारी, रमेश उप्रेती र रेजिता उप्रेतीसम्मको बाक्लो उपस्थिति त्यहाँ देखियो।
अचेल प्रिमियरमा हत्तपत्त नदेखिने यी पुराना स्टारहरूको भिड र उनीहरूको तारिफ सुन्दा लाग्थ्यो, घिमिरे परिवारलाई इन्डस्ट्रीको राम्रै साथ छ। तर, के हलमा टिकट काट्ने दर्शकले पनि यसैगरी पञ्चमीलाई नव-नायिकाको रूपमा स्वीकार्लान् त?
बक्स अफिसको कुरा गर्दा पञ्चमीको बाटो त्यति सहज भने छैन। किनकि, गत शुक्रबारदेखि नै हलमा एक्सन स्टार विराज भट्टको फिल्म ‘राम नाम सत्य’ लागिरहेको छ। अब नयाँ वर्षको मौकामा ‘डेब्यु गर्ल’ पञ्चमीले पुराना र स्थापित स्टारको फिल्मसँग सिधै टक्कर लिनुपर्नेछ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको ‘पहाड’मा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने क्रिएटिभ निर्माता भारती घिमिरे हुन्।
अब हेर्न बाँकी छ, विराजसँगको यो भिडन्तमा पञ्चमीले आफूलाई कत्तिको दरिलो साबित गर्नेछिन्? के उनले नयाँ वर्षमा दर्शकको साथ पाउलिन् वा अरू जस्तै एउटै फिल्मबाट हराउलिन्? त्यसका लागि अब जम्मा दुई दिन कुरौँ है!
वैशाख १, २०८३ मंगलबार ०९:४२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।