सम्पत्ति विवरणमा प्रधानमन्त्रीले राखेको प्यान नम्बर नराख्नुमा शिक्षामन्त्रीको तर्क ‘व्यक्तिगत सुरक्षा’
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख नगरेकोबारे सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै व्यक्तिगत सुरक्षाका कारण समावेश नगरेको दाबी गरेका छन्। प्यान नम्बर र सम्पत्तिको स्रोतबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनले फेसबुकमा स्पष्टीकरण लेखेका हुन्।
प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख गरे पनि उनीसहित पाँच मन्त्रीले भने सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख गरेका छैनन्। यसबारे उकेराले आइतबार बेलुका समाचार प्रकाशित गरेको थियो।
उनले व्यक्तीगत विवरणको सुरक्षाका लागि प्यान नम्बर उल्लेख नगरेको दाबी गरे पनि उनको सम्पत्ती विवरणमा बैंक खाता, जग्गाको कित्ता नम्बरसहितको विवरणहरु भने उल्लेख छ। ब्यक्तीगत गोपनियता भंग हुनसक्ने त्यस्ता विवरणहरु सार्वजनिकहुँदा बुझ्न नसकिने गरेर सेतो टिपेक्स लगाइएको छ। प्यान नम्बरको हकमा भने प्रधानमन्त्री बालेन्द्र शाहदेखि कुनै पनि मन्त्रीको नम्बर छोपिएको हैन।
पाँच हजार माथिको सामान किन्दा अनि करहरु तिर्दा प्यान नम्बर प्रयोग हुने गरेको छ। यो सार्वजनिकै गर्न नहुने अति गोपनिय सूचीमा समेत पर्ने विवरण भने देखिन्न।
सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख गरेका उनले बैंक र बैंक खाता नम्बर भने उल्लेख गरेका छन्। गोपनीयताका लागि बैंकको नाम उल्लेख गरे पनि प्राय सबैको सम्पत्ति विवरणमा बैंकको खाता नम्बर भने नदेखिने गरी सेतो टिपेक्स लगाइएको छ।
प्रधानमन्त्रीसहितका मन्त्रीहरूको प्यान नम्बर सार्वजनिक गर्दा सुरक्षा जोखिम देखिएको अवस्थामा सम्पत्ति विवरणमा प्यान नम्बर समेत खाता नम्बर जसरी नै टिपेक्स लगाएर सुरक्षित राख्न सकिने विकल्प देखिन्छ नै।
प्यान नम्बरसमेत उल्लेख नभएपछि कर लगायतका विषयमा उनीमाथि प्रश्न उठेपछि उनले लेखेका छन् “मसँग वैध प्यान नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेको हुँ।”
“म प्रिभिलेज्ड पृष्ठभूमिको”
उनी र उनको परिवारका सदस्यहरूको २३ करोड बढी सम्पत्ति विवरण सार्वजनिक भएसँगै सम्पत्तिको स्रोतबारे समेत प्रश्नहरू उठिरहेका छन्। जेनजी आन्दोलन अगाडि सामाजिक सञ्जालमा फैलिएको नेपोबेबी र नेपोकिड अभियान झैँ उनीबारे समेत सामाजिक सञ्जालमा नेपोबेबी भन्दै आलोचना भइरहेको छ।
यसबारे उनले सामाजिक सञ्जालमा लेख्दै आफू प्रिभिलेज्ड पृष्ठभूमिबाट आएको व्यक्ती भएको स्विकारेका छन्। प्रिभिलेज्ड परिवारबाट आए पनि आजसम्म आधारभूत शिक्षाबाहेक कहिल्यै पनि बुवा आमाको सम्पत्तिमा निर्भर भएर विलासिता नगरेको उनको दाबी छ।
“म स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फुल टाइम रूपमा काम गरेको व्यक्ति हुँ। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु” उनले लेखेका छन् “मेरो विवरणमा देखाइएको ऋणसमेत, बुवा आमाको आर्थिक सहयोगबिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको हो।”
“बुबाको इमान्दारीतामा गर्व”
उनको बुबा रमेशकुमार पोखरेल हुन्। उनी नेपाल राष्ट्र बैंकको कर्मचारी र विभिन्न राजनीतिक दल सत्तामा पुगेको बेलामा राजनीतिक नियुक्ति पाएका थिए। सम्पत्तिको स्रोतहरूबारे प्रश्नहरू उठेपछि स्पष्टीकरण दिँदै उनले आफ्नो बुबा नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएको र अन्तर्राष्ट्रिय मुद्रा कोष, वासिङ्टन डिसीमा एक्जुकेटिभ डिरेक्टरको सल्लाहकारको रूपमा काम गरेको उल्लेख गरेका छन्। स्वास्थ्य सेवा बोर्डको कार्यकारी निर्देशकमा नियुक्तीबारे भने उनले उल्लेख गरेका छैनन्।
उनले आफ्नो बाबुको उच्च नैतिकता र इमानदारिताप्रति सधैँ गर्व गर्ने र यही मूल्यहरूले आफूलाई पनि मार्गदर्शन गरेको दाबी गरेका छन्।
काठमाडौंको जग्गा खरिदको विषयमा उनले “त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम रहेको र हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको उल्लेख गरेका छन्।
“पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको छु”
उनले पारदर्शिता केवल शब्द नभई व्यवहारमा देखिनुपर्ने विश्वास रहेको र त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने लेखेका छन्।
चैत ३०, २०८२ सोमबार २३:१८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।