रास्वपाका दुई सांसदले प्रधानमन्त्री बालेन्द्रलाई भने "मन्त्रीहरूले हामीलाई गनेनन्, निर्देशन दिनुपर्‍यो"

रास्वपाका दुई सांसदले प्रधानमन्त्री बालेन्द्रलाई भने

काठमाडौं : विभिन्न प्रदेशका सांसदहरूसँग छलफल गर्नेक्रममा सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बागमती प्रदेशका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए। छलफलमा प्रधानमन्त्री कार्यालयले सबै दलका सांसदहरूलाई बोलाउने गरेको छ। त्यही अनुसार सोमबार सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू पनि सहभागी थिए।

कांग्रेस र नेकपाका सांसदहरूले आफ्नो क्षेत्रमा रहेको समस्याहरूबारे जानकारी गराउँदा सत्ताधारी दल रास्वपाकै दुई सांसदले भने प्रधानमन्त्री समक्ष आफ्नै दलका मन्त्रीहरूको व्यवहारबारे गुनासो गरे। बैठक स्रोतका अनुसार धादिङकी रास्वपा सांसद आशिका तामाङ अनि काभ्रेपलान्चोकका सांसद वदनकुमार भण्डारीले आफ्नै दलको सरकार भए पनि मन्त्रीहरूले सांसदहरूलाई गन्दै नगनेको भन्दै गुनासो गरेका थिए।

मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा आउँदा आफूहरूलाई जानकारी पनि नदिने र भेट्दा पनि नभेट्ने गरेको भन्दै सांसद तामाङले आफू पनि निर्वाचित जनप्रतिनिधि भएको र मतदाताहरूले अपेक्षा गर्ने भन्दै मन्त्रीहरू कुनै जिल्लामा जाँदा त्यहाँको सांसदलाई पनि जानकारी दिनु पर्ने भन्दै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएकी थिइन्। मन्त्रीहरूले सांसदहरूलाई भेट्न समेत नमान्ने गरेको भन्दै उनले बैठकमा भनेको भनाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो "हामी पनि निर्वाचित प्रतिनिधि हौँ। तर मन्त्रीहरूले हामीलाई गन्दै गनेनन्। यसमा प्रधानमन्त्रीज्यूले निर्देशन दिनुपर्यो।"

उनले बैठकमा मन्त्रीको व्यवहारबारे गुनासो गरेसँगै सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन गर्नुपर्ने र चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ‘प्याकेज’ ल्याउनु पर्ने बताएकी थिइन्।

बैठकमा सहभागी बागमती प्रदेशका सांसदहरु। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।काभ्रेका सांसद भण्डारीको गुनासो पनि आशिकाको जस्तै थियो। गृहमन्त्री सुधन गुरुङ अनुगमनका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा आउँदा आफूले जानकारी नै नपाएको र गृहमन्त्रीले वास्ता पनि नगरेको भन्दै मन्त्रीले आफ्नै पार्टीको सांसदलाई जानकारी नदिँदा मतदाताहरूमा नकारात्मक प्रभाव पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

उनले आफू पनि जनप्रतिनिधि भएको र मतदातामा आफूप्रति पनि अपेक्षा रहेको भन्दै मन्त्रीहरूको यस्तो व्यवहारले क्षेत्रमा नकारात्मक छवि बन्ने भन्दै मन्त्रीहरू कुनै निर्वाचन क्षेत्रमा जाँदा अनिवार्य रूपमा सम्बन्धित निर्वाचन क्षेत्रको सांसदसँग समन्वय गर्न प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने धारणा राखेका थिए। 

भण्डारीले बैठकमा सुनकोसी–३ जलाशययुक्त आयोजना अगाडि बढाउन, धुलिखेललाई बागमती प्रदेशको राजधानीका रूपमा विकास गर्नसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

बैठकमा सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहलाई मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण तथा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए। 

चितवन–१ का सांसद हरि ढकालले राप्ती नदी किनारमा साइकल लेनसहितको सफारी मार्ग बनाउनु पर्ने, सिँचाइ विस्तारका लागि ‘हाई ड्याम’ निर्माण तथा सौराहामा अनलाइन टिकट प्रणाली लागू गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

काठमाडौँ, १,२,३ र ४ का सांसदहरु रञ्जु दर्शना, राजु थापा, पुकार बम , रामेछापका सांसद डा कृष्णहरि बुढाथोकी लगायतले आ-आफ्नो क्षेत्रको समस्या सुनाएर समाधानका लागि प्राथमिकतामा राख्न आग्रह गरे।

सबै सांसदहरुको समस्या र सुझाव सुनिसकेपछि प्रधानमन्त्री शाहले करिव साढे २ मिनेट बोलेका थिए। उनले बजेट र प्राथमिकताका आधारमा उठाइएका विषयबारे निर्णय हुने भन्दै कसको सुझावबारे के गर्ने भन्ने पक्ष कार्यान्वयनमा गए पनि नगए पनि फोनबाट जानकारी आउने बताएका थिए। 

चैत ३०, २०८२ सोमबार २१:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।