‘मास्टर्नी’को गुपचुपले सिने वृत्तमा कौतुहलता, छायांकन सकिँदा पनि प्रचार गरिएन

‘मास्टर्नी’को गुपचुपले सिने वृत्तमा कौतुहलता, छायांकन सकिँदा पनि प्रचार गरिएन

काठमाडौं : नेपालमा वर्षमा ५० भन्दा बढी फिल्म प्रदर्शन हुन्छन्। तर, कतिपय फिल्म कुन बेला प्रदर्शनमा आए र कति बेला उत्रिए, दर्शकले पत्तोसमेत पाउँदैनन्। कतिपय फिल्मको छायांकन सुरु भएको र सकिएको जानकारी समेत निर्माण पक्षले सार्वजनिक गर्दैनन्।

यस्तै शैली अभिनेत्री प्रियंका कार्कीले पनि पछ्याएको देखिएको छ। उनले आफ्नो नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन गत चैत १३ गतेदेखि सुरु गरेकी थिइन्। तर, यसको खासै चर्चा र प्रचार भएन। कास्की जिल्लाबाट सुरु भएको फिल्मको छायांकन सकेर टोली काठमाडौं फर्किसकेको छ। यद्यपि, फिल्म निर्माण भइरहेको बारे हलसम्म पुगेर टिकट काट्ने आम दर्शकलाई समेत खासै जानकारी छैन।

‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा प्रियंका स्वयम् मुख्य भूमिकामा छन्। फिल्ममा प्रियंकाका साथै गौरी मल्ल, ऋचा शर्मा, आर्यन सिग्देल, अनुप विक्रम शाही र प्रमोद अग्रहरी जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको चर्चा छ। फिल्मका निर्देशकसहित अधिकांश प्राविधिक टोली भारतबाट ल्याइएको बताइन्छ।

अचम्मको कुरा त के छ भने, फिल्मको छायांकन यति गुपचुप राखिएको छ कि प्रियंका निकट मानिने सञ्चारकर्मी र सामाजिक सञ्जालमा समेत लेखेको देखिँदैन। सामान्यतया कलाकारहरू छायांकनका गतिविधि सामाजिक सञ्जालमा सेयर गरिरहन्छन्, तर ‘मास्टर्नी’को हकमा भने निर्माण पक्षले पूर्ण गोपनीयता अपनाएको छ।

फिल्मको यो 'गोपनीयता' लाई लिएर दुई थरिका अनुमान गर्न सकिन्छ- कि त प्रियंकाले यसलाई सरप्राइजका रूपमा ल्याउन खोजेकी हुन्, वा फिल्म चल्नेमा आशङ्का भएर प्रचार नगरिएको हो। फिल्म क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बटुलिसकेकी प्रियंकाले फिल्म चलाउने कुनै नयाँ रणनीतिका साथ यो मौनता अपनाएकी हुन् कि भन्ने पनि विश्लेषण गरिँदै छ।

जे होस्, फिल्मको निर्माण र छायांकन जस्तै यसको प्रदर्शन पनि गुपचुप हलबाट नउत्रियोस्। सुटिङमा जस्तै प्रदर्शनका बेला पनि प्रचारमा ध्यान नदिए लगानी र मेहनत दुवै जोखिममा पर्न सक्छ।

चैत ३०, २०८२ सोमबार १८:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।