बिराजको चामले ओझेलमा सुपुष्पा र दिव्या
काठमाडौं : गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’को भन्दा बढी चर्चा अभिनेता बिराज भट्टको भइरहेको देखिन्छ। दर्शकहरू फिल्मको नामभन्दा पनि बिराजको नाम लिएर हलसम्म पुगिरहेका छन्।
तर, सोही फिल्मका अन्य कलाकारहरू सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी र नव-अभिनेत्री खुशी कार्कीको भने खासै चर्चा देखिँदैन। शुक्रबार हल भिजिटका क्रममा निर्माण टिम बिहान 'बिग मुभिज' पुगेको थियो। त्यहाँ बिराजलाई देख्नेबित्तिकै दर्शकले उनलाई काँधमा उचालेर ‘बिराज भट्ट हाई-हाई’ भन्दै नाराबाजी गरे।
उनीसँग फोटो खिचाउन र भिडियो बनाउन चाहनेहरूको ठूलै भीड थियो। तर, छेवैमा रहेका सुपुष्पा भट्ट, सुशील श्रेष्ठ र खुशी कार्कीलाई भने दर्शकले खासै वास्ता गरेको देखिएन। यसरी ओझेलमा परेका यी कलाकारहरू नेपाली फिल्म क्षेत्रका लागि नयाँ भने होइनन्।
सुपुष्पाले सात वर्षअघि फिल्म ‘रणवीर’बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। व्यावसायिक रूपमा सफल नभए पनि यस फिल्मले सुपुष्पालाई मेकरमाझ भने परिचित गरायो। त्यसपछि उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको नजरमा परिन् र ‘छ माया छपक्कै’मा अभिनय गरिन्। फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरे पनि यसको श्रेय र चर्चा स्थापित कलाकारहरूले नै पाए, सुपुष्पाको भूमिका छायामा पर्यो।
त्यसयता उनले ‘चपली हाइट ३’ र ठूलो लगानीको ‘पीताम्बर’मा अभिनय गरिन्। एक्सन प्रधान ‘पीताम्बर’मा उनको भूमिका फितलो देखियो, जसले दर्शकमा बलियो छाप छोड्न सकेन। हालै उनी आफ्नै पारिवारिक ब्यानरको फिल्म ‘फेरि रेशम फिलिली’मा पनि देखिइन्। तर, यस फिल्मबाट पनि उनले फिल्मकर्मीको विश्वास जिते पनि आम दर्शकमाझ खासै प्रभाव जमाउन सकेकी छैनन्।
यस्तो अवस्थाले एउटा गम्भीर प्रश्न उब्जाएको छ- के सुपुष्पाले कमजोर पात्रहरू रोजेकै कारण यस्तो भएको हो ? वा फिल्म पाउँदा अभिनय गरिहाल्ने प्रवृत्तिले उनलाई घाटा पुर्याइरहेको छ ? फिल्मको सङ्ख्या मात्र बढ्ने तर दर्शकले नचिन्ने अवस्था रहिरहनु पक्कै पनि सुखद मान्न सकिँदैन।
चैत ३०, २०८२ सोमबार १८:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।