प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोज्न ज्ञानेन्द्रको आग्रह
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले निषेध, फुट र द्वन्द्वको राजनीतिले राष्ट्र कमजोर बनेकोले संवाद र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ सालको अवसरमा जारी गरेको एक भिडियो सन्देशमा उनले प्रतिशोध र निषेधको राजनीति गर्न नहुने धारणा राखेका छन्।
उनले भनेका छन्, "निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं।"
विगतका राजनीतिक परिवर्तनहरूले केवल प्रणालीमा हेरफेर ल्याए पनि राष्ट्रको वास्तविक उन्नति हुन नसकेको उनको भनाई छ। देश सधैँ 'प्रयोगशाला' मात्र बनेको उल्लेख गर्दै उनले भनेका छन्, "बितेका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन्-झन् तल-तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो। राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्यौं, तर त्यो कोरा परिवर्तन मात्र भयो। दलदलको खलबलमा त हामी धेरै दगुर्यौं तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछाडि पर्यौं। सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्र हामी लाग्यौं। फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।"
शाहले अस्थिरताका कारण विधि र पद्धति बदलेर मात्रै समग्र स्थिति सुधार नहुने पाठ विगतले सिकाएको उल्लेख गरे। यद्यपि, राजनीति र राज्य सञ्चालनमा युवा पिँढीको बढ्दो संलग्नतालाई उनले उत्साहको विषय भने। पढेलेखेका र प्रविधिमैत्री युवाहरूको आगमनले राष्ट्र निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ।
उनले भनेका छन्, "आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ। नयाँ वर्षमा जिउ धनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु... हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ।"
शाहले छिमेकी र बाह्य शक्तिहरूसँगको सद्भाव बढाउँदै आर्थिक अवस्था उकास्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। अशान्त विश्व परिवेशमा देशलाई स्वाधीन र आत्मनिर्भर बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, "आम नागरिकले कुनै प्रकारको शारीरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस्। हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधीन भएर पराधीनताबाट देशलाई जोगाउनु छ।"
अन्त्यमा उनले देशको स्रोत र शक्तिको सही उपयोग गर्दै स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धनमार्फत देशको गौरव बढाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।
चैत ३०, २०८२ सोमबार १८:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।