प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो, मिति अझै अनिश्चित
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणको आवश्यक तयारी र प्राथमिकता तय भएपछि मात्रै प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले भारत भ्रमण गर्ने बताएका छन्।
विदेश भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले प्रधानमन्त्री बालेनको भ्रमणको मिति भइनसकेको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई पठाएको बधाई पत्रमा नै भ्रमणको निम्तो आएको खनालले जानकारी दिए। तर, भ्रमणको मिति भने तय नभएको उनले प्रस्ट पारे।
खनालले भने, "अहिले कुन मितिमा जाने, कहिले जाने, कसरी जाने भन्ने कुनै मिति तिथि तय भएको अवस्था होइन। निम्ता आएको छ। दुइटा देश बीच उच्च स्तरीय राजनीतिक भ्रमणहरू हुनु अत्यन्त स्वाभाविक हो।"
हालै भारतीय विदेशमन्त्रीसँग भएको संवादबारे जानकारी दिँदै उनले उच्च स्तरीय भ्रमणका लागि सरकारले पहिले आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्ने बताए। त्यसको लागि अहिले नेपाल र भारतबीच रहेका संयन्त्रहरूले सक्रियताका साथ काम गरिरहेको उनले जानकारी दिए।
खनालले भने, "नयाँ सरकार आएको र हामीले नयाँ आफ्ना प्राथमिकताहरू हामीसँग विशेषगरी भारतसँग चाहिँ हाम्रो ४० वटा भन्दा बढी संयन्त्रहरू छन्। कोही एकदमै सक्रिय छन्। कतिलाई हामीले सक्रिय बनाउनुपर्ने छ। ती सबै संयन्त्रहरूले आ-आफ्नो काम गरिसकेर प्राविधिक रूपमा तयार भइसकेपछि मात्रै हामी राजनीतिक भ्रमणहरू सुरु गर्छौ।"
चैत ३०, २०८२ सोमबार १७:१०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।