भारतीय गायिका आशा भोस्लेले अस्पताल भर्ना

भारतीय गायिका आशा भोस्लेले अस्पताल भर्ना

एजेन्सी : भारतीय गायिका आशा भोस्लेलाई मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। ९२ वर्षीया भोस्लेको हाल अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसेज युनिटमा उपचार भइरहेको छ। 

भोस्ले फोक्सोको समस्या र उमेरजन्य अन्य स्वास्थ्य जटिलताबाट पनि गुज्रिरहेकी रहेको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन्। उनी पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। उनको स्वास्थ्य अवस्थाबारे परिवारको तर्फबाट आधिकारिक प्रतिक्रिया आएको छैन। 

८ सेप्टेम्बर १९३३ मा जन्मिएकी भोस्लेले सन् १९४३ मा १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। उनले ९० वर्षको उमेरसम्म निरन्तर गायन क्षेत्रमा सक्रिय योगदान दिइन्। आफ्नो लामो साङ्गीतिक करियरमा उनले हंसराज बहल, ओपी नैय्यर, मदन मोहन, आरडी बर्मन, इलैयाराजा, अनु मलिक र एआर रहमान जस्ता दिग्गज सङ्गीतकारहरूसँग काम गरेकी छन्।

उनले मोहम्मद रफी, मुकेश र किशोर कुमारदेखि ब्वाय जर्ज र आदित्य नारायणसम्मका विभिन्न पुस्ताका गायकहरूसँग सहकार्य गरेकी छन्। सन् १९९५ मा उस्ताद अली अकबर खाँसँगको एल्बमका लागि उनी 'ग्रामी अवार्ड' मा मनोनीत भएकी थिइन्। उनले हालसम्म १० हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी छन्।

उनले थुप्रै नेपाली गीतमा समेत स्वर दिएकी छन्।

चैत २९, २०८२ आइतबार ०९:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।