इस्लामावादमा भएको अमेरिका-इरान वार्ता स्थगित, मतभेद अझै बाँकी
एजेन्सी : अमेरिका र इरानबीच विगत ६ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा सुरु भएको वार्ता तत्कालका लागि स्थगित भएको छ। दुवै पक्षबीच महत्त्वपूर्ण मुद्दाहरूमा मतभेद कायमै रहेका कारण २१ घण्टा लामो छलफल कुनै सम्झौतामा पुग्न सकेन।
वार्ता सन् १९७९ को ‘इरानी क्रान्ति’ पछि भएको सबैभन्दा महत्त्वपूर्ण र विगत एक दशकभन्दा बढी समयपछिको पहिलो प्रत्यक्ष भेटवार्ता हो। इरान सरकारले पनि वार्तामा केही गम्भीर मतभेदहरू अझै बाँकी रहेको स्वीकार गरेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा वार्ता निष्कर्षविहीन भएको पुष्टि गरे। उनले भने, "हामी विगत २१ घण्टादेखि यसैमा केन्द्रित थियौं, तर दुःखद कुरा के छ भने हामी कुनै सम्झौतामा पुग्न सकेनौं।"
भान्सका अनुसार अमेरिकाले आफ्नो सीमा स्पष्ट पारेको थियो, तर इरानले ती सर्तहरू मान्न अस्वीकार गर्यो। उनले अगाडि भने, "हामीले निकै लचिलो र सहयोगी दृष्टिकोण अपनाएका थियौं, तर इरान हाम्रा प्रस्तावहरू स्वीकार गर्ने स्थितिमा पुग्न सकेन।"
वार्ताको मुख्य एजेन्डा इरानको परमाणु कार्यक्रम रहेको थियो। उपराष्ट्रपति भान्सले इरानले परमाणु हतियार नबनाउने र त्यसका लागि आवश्यक साधनहरू नजुट्ने ठोस प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए। उनले यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुख्य लक्ष्यको रूपमा प्रस्तुत गरे।
इरानको परमाणु कार्यक्रम ध्वस्त पारिएको दाबी गर्दै भान्सले भविष्यमा यसको विकास रोक्न बलियो र आधारभूत राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए। वार्ताका क्रममा इरानको रोक्का गरिएको सम्पत्तिका विषयमा समेत विस्तृत छलफल भएको थियो।
अमेरिकाले वार्तामा मध्यस्थता गरेकोमा पाकिस्तानको भूमिकाको खुलेर प्रशंसा गरेको छ। उपराष्ट्रपति भान्सले पाकिस्तानले वार्ता सफल बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिए। वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किने तयारीमा छ। यद्यपि लामो समयपछि भएको वार्ता निष्कर्षविहीन रहे पनि जारी युद्ध समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।
चैत २९, २०८२ आइतबार ०८:३३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।