वैशाख २ देखि आर्थिक गणना, सही विवरण उपलब्ध गराउन सरकारको आग्रह
काठमाडौं : आगामी वैशाख २ गतेदेखि देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु हुँदैछ। गणनाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
गणनाका लागि देशभर आवश्यक गणक र सुपरिवेक्षकसहित करिब ५ हजार जनशक्ति सम्बन्धित कार्यक्षेत्रमा परिचालन भइसकेका छन्। कार्य तालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन्। उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरे।
सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ। गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ।
देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ। त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ।
आर्थिक गणना तयारीको पूर्व चरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो। यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ। ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ।
तथ्याङ्क कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ। आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ।
यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो।
चैत २९, २०८२ आइतबार ०७:३४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।