टिपरको ठक्करबाट आमाको मृत्यु, छोराको अवस्था गम्भीर
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका- १५, अक्कलघरवामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका-५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका हुन्।
प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२-००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको उल्लेख गर्दै रावतको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ। दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी-९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत २८, २०८२ शनिबार २०:५८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।