विजय थलापतिको फिल्म 'जन नायकन' रिलिजअघि नै अनलाइनमा 'लिक'

विजय थलापतिको फिल्म 'जन नायकन' रिलिजअघि नै अनलाइनमा 'लिक'

काठमाडौं : दक्षिण भारतीय अभिनेता विजय थलापतिको प्रतीक्षित फिल्म 'जन नायकन' प्रदर्शन हुनुअघि नै अनलाइनमा 'लिक' भएको छ। सिनेमा हलमा लाग्नु अगावै फिल्मको एचडी प्रिन्ट अनधिकृत रूपमा बाहिरिएपछि निर्माण पक्ष र कलाकारहरूले चिन्ता व्यक्त गरेका छन्।

अभिनेता विजय पछिल्लो समय सक्रिय राजनीतिमा लागेका कारण 'जन नायकन' लाई उनको अन्तिम फिल्मका रूपमा हेरिएको छ। यो फिल्म ९ जनवरी २०२६ मा प्रदर्शन गर्ने तयारी गरिएको थियो, तर सेन्सर सर्टिफिकेटको प्रक्रियाले गर्दा उक्त फिल्म प्रदर्शनमा आउन सकेको छैन। यही अन्योलका बीच फिल्म अनलाइनमा सार्वजनिक भयो। 

फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री पूजा हेगडेले सामाजिक सञ्जालमार्फत फिल्म लिक भएकोमा दुःखद व्यक्त गरिन्। उनले एउटा फिल्म निर्माणका लागि सिङ्गो टिमले लामो समयसम्म गरेको मेहनत र रचनात्मक प्रयासमाथि यसले चोट पुऱ्याएको उल्लेख गरिन्।

उनले इन्स्टाग्राममा लेखेकी छन्, "हाम्रो फिल्म अनलाइन लिक हुनु निकै निराशाजनक छ। यो मेरो लागि मात्र होइन, यसमा काम गर्ने हरेक व्यक्तिका लागि दुखद कुरा हो। यसरी फिल्म लिक भएको र अवैध रूपमा साझा गरिएको देख्दा निकै पीडा हुन्छ। यो पैसाको कारणले मात्र होइन, बरु यसले ती हरेक कलाकार र प्राविधिकहरूको सम्मान खोस्छ, जसको उनीहरू हकदार छन्।"

अभिनेता विजयको अन्तिम फिल्म भएकाले पनि हलकै पर्दामा हेरेर उत्सव मनाउनु उचित हुने पूजाको भनाइ छ। उनले दर्शकहरूलाई आधिकारिक रिलिजको पर्खाइ गर्न र पाइरेसीलाई प्रोत्साहन नगर्न अपिल गरेकी छन्। "त्यसैले, यसलाई सही तरिकाले हेरौं। केही समय पर्खौं, यो सही समयमा रिलिज हुनेछ। पाइरेसीलाई प्रश्रय नदिनुहोस्। यसरी नै सिनेमा र कला जीवित रहनेछन्," उनले दर्शकलाई अनुरोध गरेकी छन्। 

चैत २८, २०८२ शनिबार १८:०६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।