फेरि आउने चुनावमा अहिलेको अवस्था बदल्छौं : महासचिव पोखरेल
काठमाडौं : एमाले महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामना गर्दै अगाडि बढ्ने बताए।
पोखरेलले भने, “हालको निराशालाई सङ्कल्पमा बदल्ने छौं र सङ्कल्पलाई आशामा बदल्ने छौं। सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिष्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौं।”
उनले यस पटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
“विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौं। यस पटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौं”, महासचिव पोखरेलको भनाइ थियो।
पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताइन्। सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्वाह गरिने बताए।
चैत २८, २०८२ शनिबार १५:२३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।