सन्दीपले अम्पायर थर्काएपछि करणको प्रश्न- ‘अम्पायरलाई पिटे कति म्याचमा प्रतिबन्ध लाग्ने हो?’
काठमाडौं : नेपाली घरेलु क्रिकेटमा अम्पायरिङको स्तरलाई लिएर लामो समयदेखि विवाद र बहस चल्दै आएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) देखि प्रधानमन्त्री कप (पिएम कप) र जय ट्रफीसम्म अम्पायरका निर्णयमाथि खेलाडीहरूले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन्।
यसैबीच, राष्ट्रिय टोलीका अनुभवी फास्ट बलर करण केसीले सामाजिक सञ्जालमा अम्पायरलाई लक्षित गर्दै गरेको एउटा व्यंग्यात्मक टिप्पणीले क्रिकेट वृत्तमा नयाँ तरंग ल्याएको छ।
फेसबुक पेज ‘ट्रोल क्रिकेट नेपाल’ले शुक्रबार पिएम कपका क्रममा बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने र अम्पायरबीच भएको विवादको तस्बिर पोस्ट गरेको थियो।
उक्त पोस्टमा कमेन्ट गर्दै करणले सोधेका छन्, ‘यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने… मेरो मतलब गल्तीले... कति खेलमा प्रतिबन्ध लाग्छ? सोधेको मात्र। पुनश्च: खेलाडीको जानकारी र सुरक्षाको लागि।’

करणको यो टिप्पणीले एकातिर अम्पायरिङप्रतिको खेलाडीहरूको चरम असन्तुष्टि झल्काउँछ भने अर्कोतर्फ सार्वजनिक रूपमै राष्ट्रिय टोलीका सिनियर खेलाडीबाट आएको यस्तो प्रतिक्रिया कत्तिको अनुशासनभित्र पर्छ भन्ने प्रश्न पनि उब्जाएको छ।
के थियो शुक्रबारको घटना?
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेश र मधेश प्रदेशबीच पिएम कपको ३७औं खेल भइरहेको थियो। बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले ब्याटिङ गरिरहँदा खेलको २३औं ओभरमा विवादको सिर्जना भएको थियो।

बागमतीका प्रतीश जीसीले बलिङ गरिरहेको उक्त ओभरको दोस्रो बल मधेशका मोहम्मद आदिल आलमको प्याडमा लागेको थियो। बलिङ टिमले एलबीडब्लूको जोडदार अपिल गरे पनि अनफिल्ड अम्पायर कमलेश ठाकुरले त्यसलाई नकारे।

अम्पायरले आउट नदिएपछि बागमतीका कप्तान सन्दीप लामिछाने आक्रोशित हुँदै अम्पायरसँग विवाद गर्न पुगेका थिए। उनी अम्पायर ठाकुरलाई औंला उठाएर थर्काउँदै लामो समय विवाद गरेका थिए। क्रिकेटमा अम्पायरको निर्णय नै अन्तिम हुने नियम छ।

तर पनि सन्दीपले अम्पायर ठाकुरसँग तीन मिनेट लामो गलफती र विवाद गरेका थिए। उनी मैदानमै यति आक्रोशित र आक्रमक भएका थिए कि उनका टिमका साथीहरूले उनलाई समातेर अर्को साइडमा लैजानुपरेको थियो।
उक्त खेलमा प्रतीश जीसीको ५ विकेटको मद्दतले बागमतीले ३५ रनको जित हात पारेको थियो।
सन्दीप र अम्पायरको विवाद नौलो होइन
मैदानमा अम्पायरको निर्णयमाथि प्रश्न उठाउँदै सन्दीप लामिछाने कड्किएको यो पहिलो घटना भने होइन।
गत फागुन १२ गते काठमाडौंको मुलपानी मैदानमा भएको जय ट्रफी पुरुष इलिट कपअन्तर्गत बागमती र त्रिभुवन आर्मी क्लबबीचको खेलमा पनि यस्तै तनावपूर्ण दृश्य देखिएको थियो।
खेलको ५३औं ओभरमा सन्दीपले फ्याँकेको बलमा आर्मीका ब्याटर विनोद भण्डारीले प्रहार गर्दा बल सिधै सन्दीपतर्फ फर्किएको थियो।
सन्दीपले तत्कालै बल टिपेर स्टम्पतर्फ थ्रो गर्दा क्रिजभित्रै रहेका विनोदले त्यसलाई खुट्टाले छेकेका थिए। बल स्टम्पमा लाग्न नपाएपछि सन्दीपले 'अब्स्ट्रक्टिङ द फिल्ड' (फिल्डिङमा बाधा पुर्याएको) नियमअनुसार आउटको अपिल गरेका थिए।
तर, अनफिल्ड अम्पायरद्वय बुद्धिबहादुर प्रधान र राम पाण्डेले ब्याटर क्रिजभित्रै रहेको र आफूलाई बलबाट बचाउन गोडाले रोकेको भन्दै अपिल खारेज गरिदिए। त्यसपछि सन्दीपले क्रिकेटको नियमको हवाला दिँदै मैदानमै अम्पायरसँग लामो बहस गरेका थिए।

अघिल्लो वर्ष प्रतिबन्धमै परेका थिए सन्दीप
संयोग कस्तो छ भने अघिल्लो संस्करणको जय ट्रफीमा पनि बागमती र आर्मीबीचकै खेलमा सन्दीपले अम्पायरसँग ठूलो विवाद गरेका थिए।
गत वर्ष पुस २५ गतेको खेलमा अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले दिनको खेल सकिएको इसारा गरेपछि सन्दीपले मैदानमै आपत्ति जनाएका थिए। त्यसको भोलिपल्ट पुस २६ गते उनले सामाजिक सञ्जालमै स्ट्याटस लेखेर नेपालका अम्पायरहरूको स्तर सुधार नभएको भन्दै कडा आलोचना गरे।
उक्त घटनापछि प्रतियोगिताको प्राविधिक कमिटी र म्याच अम्पायरको प्रतिवेदनका आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै घरेलु क्रिकेटको एक खेलमा प्रतिबन्ध लगाउनुका साथै ३ ‘डिमेरिट अंक’ समेत दिएको थियो।
चैत २८, २०८२ शनिबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।