काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा २५.९६ प्रतिशत बढ्यो

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा  २५.९६ प्रतिशत  बढ्यो

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढाइएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णय र राजपत्रमा सूचना प्रकाशन भएसँगै नयाँ भाडादर कार्यान्वयनमा आएको हो।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीको हकमा २४ रुपैयाँदेखि ५० रुपैयाँसम्म भाडादर कायम गरिएको छ।

बागमती प्रदेशमा पेट्रोलबाट चल्ने ट्याक्सीको हकमा प्रति २ सय मिटरको १२ रुपैयाँ कायम गरिएको छ। प्रतीक्षा शुल्क १ रुपैयाँ तोकिएको छ भने प्रतिक्षा समय प्रति ३० मिनेट तोकिएको छ।

यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ। ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ।

सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ।

चैत २८, २०८२ शनिबार १३:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।