लुम्बिनीका विद्युतीय बस अब देशका चार ठूला विमानस्थलमा चलाइने
बुटवल : वातावरणमैत्री सार्वजनिक यातायातको उदाहरण बन्ने अपेक्षा गरिएका लुम्बिनीका विद्युतीय बसहरू देशका अन्य प्रमुख विमानस्थलमा सञ्चालनका लागि लगिने भएको छ।
लुम्बिनी विकास कोषले लामो समयसम्म यी बसहरू सञ्चालन गर्न नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मा लगाउने निर्णय गरेको हो।
बुद्ध जन्मस्थल लुम्बिनीका लागि भनेर पाँचवटा विद्युतीय बस हाल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याइएका छन्।
गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले पोखरा विमानस्थलमा २ वटा बस पठाउने बताए। साथै धनगढी, नेपालगंज र सुर्खेत एक–एक वटा बस संचालन गर्ने गरी निर्णय भएको उनले बताए।
विद्युत्तिय बस लुम्बिनी विकास कोषले सञ्चालन गर्न नसकेपछि गौतमबुद्ध विमानस्थलकै लागि सञ्चालन गर्न माग गरेपनि नागरिक उड्यन प्राधिकरणले भैरहवाका लागि बस नदिई अन्यत्र पठाउन लागेको हो।
करिब ६ वर्षअघि ठूलो आशाका साथ भित्राइएका यी बसहरू सञ्चालनमा ल्याउन पछिल्लो प्रयास पनि २४ घण्टा नबित्दै रोकिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलपछि गत साता मात्र दुई रुटमा बस सेवा सुरु गरिएको थियो। तर सेवा सुरु भएको भोलिपल्टै बसहरू चल्न छाडेका थिए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाशाखा प्रमुख मुरारी प्रसाद पौडेलका अनुसार लामो समय प्रयोगविहीन रहँदा अधिकांश बसमा प्राविधिक समस्या देखिएको छ।
‘केही बसका सिसा फुटेका छन, धेरैलाई मर्मत आवश्यक छ। हाल उपलब्ध बसमध्ये ३ वटा बस मात्रै तत्काल सञ्चालन योग्य अवस्थामा छन्,’ उनले भने।
एशियाली विकास बैंक (एडिवी) को करिब २९ करोड रुपैयाँ अनुदानमा यी १९ सिट क्षमताका विद्युतीय बस र ५ सिट क्षमताका भ्यानहरू खरिद गरिएका थिए। प्रति बस करिब २ करोड रुपैयाँ मूल्य परे पनि स्पष्ट कार्ययोजना र व्यवस्थापकीय कमजोरीका यति ठूलो सार्वजनिक लगानी प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन।
१३ करोड मूल्यका बस लामो समय घाम र पानीमा थन्किँदा अधिकांशको एसी र अन्य पार्टपूर्जा बिग्रिएका छन।
लामो समय प्रयोगविहीन हुँदा बसहरूको एसी, सिसा र अन्य पार्टपूर्जा बिग्रिएका छन्। भ्यानहरूमध्ये आधा ग्यारेजमा थन्किएका छन् भने बाँकी रहेका लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले निजी प्रयोजनमा प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेको छ।
बसहरूको स्वामित्व, सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। । लुम्बिनी विकास कोष, मन्त्रालय र विमानस्थल व्यवस्थापनबीच स्पष्ट जिम्मेवारी निर्धारण नहुँदा निर्णय प्रक्रियामा ढिलाइ भइरहेको छ।
सरकारले अब यी बसहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित सटल सेवामा प्रयोग गर्ने योजना अघि सारेको छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विमानस्थल–शहर जोड्ने विद्युतीय सवारी प्रभावकारी मानिन्छ। तर त्यसका लागि नियमित उडान, यात्रु चाप र समयमै सञ्चालन हुने सेवा आवश्यक हुन्छ। गौतमबुद्ध विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडान सीमित रहेकाले सटल सेवा तत्काल व्यावसायिक रूपमा सफल हुने आधार भने कमजोर छ।
एडीबीको सहयोगमा ल्याइएका यी बस १९ सिट क्षमताका, वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोकासहितका आधुनिक सुविधा सम्पन्न छन। कार्डमार्फत भुक्तानी गर्ने प्रविधिसमेत जडान गरिएको छ ।
यो पनि:
चैत २८, २०८२ शनिबार १२:३२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।