अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति र राहदानी मात्र देखाए पुग्छ
काठमाडौं : अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले न्युनतम आधारभूत कागजात बाहेक थप कुनै कागजात तथा विल/रसिद पेश गर्न नपर्ने प्रष्ट पारेको छ।
पछिल्लो समय विभिन्न सञ्चार माध्यममा प्रसारण भएका समाचारका कारण श्रमिकहरूमा उब्जिएको अन्यौलता चिर्दै विभागले नयाँ सूचना जारी गरेको हो।
श्रमिकहरूले वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र आफ्नो राहदानी मात्र देखाए पुग्ने जनाएको छ।
सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’
भिजिट भिसामा जाने नागरिकहरूको हकमा कम्तिमा ६ महिना म्याद भएको राहदानी, भिसा, र गन्तव्यसम्मको हवाई टिकट भएमा स्वघोषणा गरी सजिलै जान पाइने व्यवस्था गरिएको छ।
अध्यागमन विभागले कुनै पनि किसिमको भ्रममा नपरी, आफ्नो यात्रा र गन्तव्यबारे पूर्ण जानकारी लिएर निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ।

चैत २८, २०८२ शनिबार १२:००:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।