डा. रमेशको उपचार अनुभव : छाती बाहिरै मुटु निस्किएको बच्चा जन्मिएको धरानको त्यो दुर्लभ घटना

डा. रमेशको उपचार अनुभव : छाती बाहिरै मुटु निस्किएको बच्चा जन्मिएको धरानको त्यो दुर्लभ घटना

काठमाडौं : चिकित्सकको जीवन बिरामीका कथा र उपचारका अविस्मरणीय क्षणहरूले भरिएको हुन्छ। कतिपय घटना दिमागमा यति गहिरोसँग बस्छन् कि वर्षौं बित्दा पनि हिजै जस्तो लाग्छ।

स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. रमेश श्रेष्ठको चिकित्सकीय यात्रा पनि यस्तै अविस्मरणीय घटनाहरूले भरिएको छ। बिरामीको पीडालाई नजिकबाट देखेका उनले आफ्नो करिअरका केही मार्मिक र दुर्लभ क्षणहरू उकेरासँग यसरी बाँडे:

छातीबाहिरै मुटु लिएर जन्मिएको त्यो दुर्लभ शिशु
डा. रमेशको मानसपटलमा कहिल्यै नमेटिने एउटा घटना छ, जुन चिकित्सा विज्ञानकै लागि एक दुर्लभ परिघटना थियो।

आजभन्दा करिब एक दशकअघि, सन् २०१५ तिरको कुरा हो। डा. रमेश धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा कार्यरत थिए।

एक रात उनी अस्पतालमा ड्युटीमै थिए। रातको करिब २ बजेतिर प्रसव व्यथाले छटपटाइरहेकी ३४ वर्षीया एक महिलालाई अस्पताल ल्याइयो। सामान्य प्रसूति (नर्मल डेलिभरी) गराउने प्रयास सफल नभएपछि शल्यक्रिया (सिजरियन सेक्सन) गरेर बच्चा निकाल्नुपर्ने भयो।

अल्ट्रासाउन्ड रिपोर्टले गर्भको बच्चाको छातीमा केही समस्या रहेको संकेत दिइसकेको थियो। त्यसैले चिकित्सकको टोली अतिरिक्त संवेदनशील भएर शल्यक्रियामा जुट्यो।

जब शल्यक्रिया गरेर बच्चा बाहिर निकालियो, शल्यक्रिया कक्षमा एकाएक सन्नाटा छायो। त्यहाँ उपस्थित चिकित्सकको टोली नै स्तब्ध भयो। भर्खरै जन्मिएको त्यो शिशुको मुटु छातीभित्र होइन, बाहिरै थियो!

‘छातीभित्र हुनुपर्ने मुटु बाहिर निस्किएर भुक्लुक्क-भुक्लुक्क हल्लिरहेको थियो’, डा. रमेश त्यो क्षण सम्झन्छन्।

शिशुको छाती बाहिरै धड्किरहेको मुटु देखेर शल्यक्रियामा खटिएको टोलीकै मुटु ढुकढुक भयो। शिशु रोइरहेको थियो, उसको मुटु चलिरहेको थियो।

संवेदनशील शल्यक्रियाका कारण शिशुको बाहिरी मुटुमा कुनै चोटपटक लागेको थिएन। तर, यस्तो दुर्लभ र असामान्य अवस्था देखेपछि के गर्ने, कसो गर्ने भयो। टोलीले तत्कालै शिशुलाई आईसीयूमा राखेर उपचार थाल्यो।

शरीरभित्र हुनुपर्ने मुख्य अंग नै बाहिर भएकाले तत्काल शल्यक्रिया अनिवार्य थियो। भोलिपल्टै समन्वय गरेर शिशुलाई थप उपचारका लागि काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरियो।

कान्तिमा चिकित्सकहरूले त्यो दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर बाहिर रहेको मुटुलाई छातीभित्र राखे पनि। तर, शिशुलाई बचाउने उनीहरूको प्रयास सफल हुन सकेन। शल्यक्रिया गरेको तीन दिनपछि शिशुको मृत्यु भयो। यो खबरले डा. रमेशलाई निकै मर्माहत बनायो।

पछि उनले यही घटनामा आधारित रहेर एउटा वैज्ञानिक आलेख तयार पारे, जुन प्रतिष्ठित जर्नलमा प्रकाशित भयो। अनुसन्धानका क्रममा उनले थाहा पाए, त्यतिबेलासम्म संसारभर यस्ता करिब १५० वटा मात्र दुर्लभ घटना भएका रहेछन्।

चिकित्सा जगतलाई नै चकित पार्ने यो घटनाले उनलाई अन्तर्राष्ट्रिय रूपमा समेत चिनायो। त्यो दुर्लभ र अनौठो क्षण डा. रमेश कहिल्यै भुल्न सक्दैनन्।

क्यान्सर जितेर पनि हारेकी ती आमा र नटुटेको सम्बन्ध
एउटा घटनाले चिकित्सा जगतको दुर्लभता देखायो भने अर्को घटनाले मानवीय सम्बन्धको गहिराइ। यो प्रसंग करिब सात वर्षअघिको हो, जतिबेला डा. रमेश भारतको कोलकत्तास्थित टाटा मेडिकल सेन्टरमा महिला क्यान्सरसम्बन्धी फेलोसिप गर्दै थिए।

अस्पतालमा करिब ५० वर्षीया एक महिलालाई उपचारका लागि ल्याइयो। परीक्षण गर्दा उनलाई डिम्बाशयको क्यान्सर भएको र त्यो अन्तिम (तेस्रो) चरणमा पुगिसकेको पत्ता लाग्यो।

शल्यक्रिया सफल भए पनि घाउबाट दिसा बाहिर निस्कने जटिलता देखियो, जसका कारण पुनः शल्यक्रिया गर्नुपर्यो। यो सम्पूर्ण उपचार प्रक्रिया र हेरचाहमा डा. रमेश आफैँ सक्रिय थिए। उनको आत्मीय हेरचाह देखेर बिरामीको परिवार उनीप्रति निकै कृतज्ञ थियो।

उपचारको करिब एक महिनापछि ती महिलालाई डिस्चार्ज गरियो। तर, क्यान्सरले उनलाई जित्यो र केही समयपछि उनको निधन भयो। ती महिलाले संसार छाडे पनि उनको परिवारले डा. रमेशलाई कहिल्यै बिर्सेन।

‘उहाँहरू आज पनि बेलाबेलामा फोन गरेर 'तपाईंले जसरी आत्मीयताका साथ हेरचाह गर्नुभयो, त्यो हामी कहिल्यै बिर्सदैनौं' भन्दै धन्यवाद दिनुहुन्छ’, डा. रमेश भावुक हुँदै सुनाउँछन्।

डाक्टरी रहरदेखि स्त्री क्यान्सर विशेषज्ञसम्म
२०४० सालमा चितवनको रत्ननगरमा जन्मिएका रमेश श्रेष्ठ अध्ययनमा अब्बल थिए। सानैदेखि डाक्टर बन्ने रहर र बुवाआमाको पनि त्यही इच्छाले उनलाई चिकित्सा क्षेत्रतर्फ डोर्यायो।

सन् २००३ मा अर्किड साइन्स कलेजबाट प्लस टु सकेपछि उनी सन् २००४ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा एमबीबीएस पढ्न भर्ना भए।

सन् २०१० मा एमबीबीएस सकेपछि उनले त्यहीँ एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। तर, उनको ज्ञानको तिर्खा मेटिएको थिएन।

सन् २०११ मा उनले प्रतिष्ठानमै स्त्री तथा प्रसूति रोगमा स्नातकोत्तर (एमडी) सुरु गरे। बुवाको चाहना र शल्यक्रियामा आफ्नै रुचि भएकाले उनले यो विषय रोजेका थिए।

सन् २०१५ बाट सहायक प्राध्यापकका रूपमा काम थालेका उनलाई महिलाहरूले क्यान्सरका कारण पाएको दुःखले सधैँ पोल्थ्यो।

यही कारणले उनी सन् २०१७ मा प्रतिष्ठानकै पहलमा भारतको प्रतिष्ठित टाटा मेडिकल सेन्टरमा महिला क्यान्सरसम्बन्धी थप ज्ञान र सीप लिन पुगे। त्यहाँबाट फर्केपछि उनी पूर्ण रूपमा स्त्री-क्यान्सरको उपचारमा केन्द्रित भए।

हाल उनी प्रतिष्ठानमा ‘सह-प्राध्यापक’का रूपमा कार्यरत छन्। बिरामीको उपचार, विद्यार्थीलाई पढाउने र अनुसन्धान उनको दैनिकी हो।

उनका करिब तीन दर्जन वैज्ञानिक आलेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् भने उनले विभिन्न पुरस्कार र सम्मान पनि पाएका छन्।

विशेषगरी स्तन र पाठेघरको क्यान्सरको शल्यक्रियामा केन्द्रित डा. रमेश महिलाको क्यान्सरसम्बन्धी जोखिम र उपचारका विषयमा तालिमसमेत दिन्छन्।

चैत २८, २०८२ शनिबार ११:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।