हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन सुरु, स्याउली बजार क्षेत्रका अवैध टहरा हटाइए

हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन सुरु, स्याउली बजार क्षेत्रका अवैध टहरा हटाइए

हेटौँडा : हेटौँडाको स्याउली बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरूमा स्थानीय प्रशासनले डोजर चलाएको छ।

हेटौँडा उपमहानगरपालिका–१८ स्थित मकवानपुर जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय मकवानपुर तथा उपमहानगरपालिकाको संयुक्त टोलीले अवैध रूपमा सञ्चालित छाप्राहरू हटाएको हो।

सार्वजनिक क्षेत्र मिचेर बनाइएका करिब १० वटा छाप्राहरू भत्काइएको छ। उक्त स्थानमा अवैध रूपमा व्यापार सञ्चालन भइरहेको पाइएको थियो।

अनुगमनका क्रममा सरकारी तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइएको जनाइएको छ। सम्बन्धित निकायले यसअघि नै उक्त स्थान खाली गर्न चेतावनी दिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सोही क्षेत्रमा यसअघि अवैध रूपमा उत्पादन तथा संकलन गरिएको मदिरा समेत नियन्त्रणमा लिई नष्ट गरिएको थियो।

स्थानीय प्रशासनले सार्वजनिक जग्गा अतिक्रमण तथा अवैध व्यापार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

चैत २८, २०८२ शनिबार १०:५९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।