‘परालको आगो’को ‘निम्तो सुपारी’मा दुई जोडीको केमेष्ट्री!

‘परालको आगो’को ‘निम्तो सुपारी’मा दुई जोडीको केमेष्ट्री!

काठमाडौं : वैशाख ११ गते रिलिज डेट तोकिएको फिल्म ‘परालको आगो’ ले नयाँ गीत सार्वजनिक गर्यो।

पहिलो गीतले टिकटक र युट्युब राम्रै चर्चा कमाइरहँदा निर्माण टिमले शुक्रबार लोक फ्लेभरको गीत ‘निम्तो सुपारी’ सार्वजनिक गर्यो।

एकातिर सुहाना थापा र प्रकाश सपुतको जोडी नाचेको छ भने, अर्कोतिर सौगात मल्ल र सिर्जना अधिकारीको गाउँले अन्दाजमा देखिन्छ। रामजी लामिछानेको कोरियोग्राफीमा यी दुवै जोडीले गाउँले परिवेशमा जसरी कम्मर भाँचेका हुन्।

ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको यो गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर छ।

सत्य-स्वरूप आचार्यको संगीत र सुरेन्द्र रानाको शब्दले गाउँले भाकालाई टपक्कै टिपेको छ। गीतमा रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ।

यसअघि यही फिल्मको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीत सार्वजनिक भएको थियो। ‘निम्तो सुपारी’ले पनि त्यही हिट बाटो समात्ने निर्माण टिमको विश्वास छ।

साहित्यकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’मा आधारित यो फिल्म लक्ष्मण सुनारको निर्देशन र सुशील पोखरेलको लगानी छ।

फिल्ममा सुहाना, प्रकाश, सौगात र सिर्जनाका साथै किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको जम्बो टोली छ।

फिल्मलाई पर्दामा ‘पर्फेक्ट’ बनाउन सुशील देवकोटाले पटकथा तथा संवाद कोरेका छन् भने संकल्प भुजेलको क्यामेराले दृश्य कैद गरेको छ।

शान्ति ठटाल, सत्य-स्वरूप र प्रकाश सपुतकै संगीत जोडिएको यस फिल्मको पाश्र्व संगीत किरण तुलाधरले तयार पारेका हुन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्।

मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजन, समिर मिया र सत्यम रानाको भिएफएक्स अनि साहिल खानको टिजर/ट्रेलर सम्पादनले फिल्मलाई प्राविधिक रूपमा बलियो बनाएको छ।

प्रतिक चौधरीको कला निर्देशन र करण बहादुर साउदको मुख्य सहायक निर्देशन रहेको फिल्मको ध्वनि सम्मिश्रण मुकेश शाहले गरेका छन्। 

नगेन्द्र घिमिरेको निर्माण संयोजन रहेको यस फिल्मका प्रस्तुतकर्ता सुलभी पोखरेल र सत्यम पोखरेल हुन्।

चैत २८, २०८२ शनिबार ०९:३९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।