अमेरिका-इरान आमनेसामने : ट्रम्पको चेतावनी- ‘डिल नभए फेरि आक्रमण’, इरान भन्छ- ‘सर्त नमाने वार्ता हुन्न’
एजेन्सी : अमेरिकासँगको बहुप्रतीक्षित वार्ताअघि इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफको नेतृत्वमा शुक्रबार अबेर राति उक्त टोली इस्लामावाद पुगेको हो।
यस टोलीमा विदेशमन्त्री अब्बास अराघची, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेम्माती, पूर्व आईआरजिसी कमान्डर मोहम्मद बाकर जोल्कादर र संसदका कैयौँ सदस्यहरू सहभागी छन्।
इरानले आफ्नो अडान प्रस्ट पार्दै भनेको छ- जबसम्म लेबनानमा युद्धविराम लागू हुँदैन र रोक्का राखिएका आफ्ना अर्बौं डलर फुकुवा हुँदैन, तबसम्म अमेरिकासँग औपचारिक वार्ता सुरू हुनेछैन।
अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै इस्लामावाद पुग्दैछन्। अमेरिका र इरानबीच इस्लामावादमा हुन लागेको यो निर्णायक बैठकमाथि सिङ्गो विश्वको नजर टिकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच सहमति (डिल) नभए अमेरिकाले फेरि आक्रमण गर्ने चेतावनी दिएका छन्। अमेरिकी युद्धपोतहरूलाई अत्याधुनिक हतियारले सुसज्जित गरिएको र आवश्यकता परे तिनको प्रयोग गरिने उनले बताएका छन्।
यसैबीच उपराष्ट्रपति भान्सले वार्ताका लागि ट्रम्पले स्पष्ट निर्देशन दिएको बताएका छन्। इरानलाई चेतावनी दिँदै उनले भनेका छन्, ‘इरानले इमानदारीपूर्वक वार्ता गरे अमेरिका तयार छ, तर 'खेल' खेल्ने प्रयास गरे कडा जवाफ दिइनेछ।’
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स केही बेरमै इस्लामावाद पुग्दैछन्। उनी सुरुमा मध्यपूर्वको युद्धको पक्षमा थिएनन्। अहिले राष्ट्रपति ट्रम्पले उनैलाई वार्ताको नेतृत्व गर्न पठाएका छन्।
त्यसैले भान्सले युद्धविरामलाई कायम राख्न मात्र नभई यसलाई लम्ब्याउन प्रयास गर्ने र इजरायललाई पनि आक्रमण कम गर्न दबाब दिन सक्ने अनुमान गरिएको छ।
ट्रम्प प्रशासनले इजरायललाई दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको आक्रमण रोक्न वा केही समयका लागि स्थगित गर्न भनेको खबर बाहिरिएको छ। इजरायलले आक्रमण जारी राखे इरानसँग हुन लागेको युद्धविराम खतरामा पर्न सक्ने उनीहरूको चिन्ता छ।
इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले आफ्नो देश वार्ता र सम्झौताका लागि तयार रहे पनि अमेरिकाले इमानदारी देखाउनुपर्ने बताएका छन्। इस्लामावाद पुगेका उनले भने, ‘इरानसँग सद्भाव छ, तर हामीलाई अमेरिकामाथि पटक्कै विश्वास छैन। अमेरिकाले इरानको अधिकार स्वीकार गर्नुपर्छ।’
अमेरिका र इरानबीच यी मुख्य मुद्दामा हुँदैछ छलफल
इरानको परमाणु कार्यक्रम: अमेरिका इरानमा युरेनियम संवर्धन पूर्ण रूपमा रोकिनुपर्ने अडानमा छ। इरानले उच्च स्तरको संवर्धित युरेनियम बाहिर पठाउनुपर्ने र परमाणु केन्द्रहरू बन्द वा सीमित गर्नुपर्ने अमेरिकाको सर्त छ।
स्ट्रेट अफ होर्मुज: विश्वको धेरैजसो तेल र ग्यास यही बाटो हुँदै जान्छ। इरान अझै पनि यसको नियन्त्रण आफूसँगै राख्न चाहन्छ र जहाजहरूसँग टोल (शुल्क) लिने अडानमा छ। तर अमेरिका यो जलमार्ग बिना कुनै अवरोध र शुल्क पूर्ण रूपमा खुला र सुरक्षित हुनुपर्ने पक्षमा छ।
ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम: अमेरिका इरानका लामो दुरीका क्षेप्यास्त्र (मिसाइल) हरूमाथि प्रतिबन्ध लगाउन चाहन्छ।
प्रतिबन्ध फुकुवा: इरान भने आफूमाथि लगाइएका सबै अमेरिकी र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू तुरुन्तै हटाइनुपर्ने, रोक्का गरिएका सम्पत्ति फिर्ता हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने सर्त राखेर बसेको छ।
चैत २८, २०८२ शनिबार ०७:१८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।