औषधिको मूल्य वृद्धिबारे छानबिन गर्न समिति गठन

औषधिको मूल्य वृद्धिबारे छानबिन गर्न समिति गठन

काठमाडौं : औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रका आधारमा मन्त्रीस्तरीय निर्णय गरी उक्त समिति बनाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव (बाह्रौं तह) डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। समितिमा मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र रुपन्देहीका विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।

प्रधानमन्त्री कार्यालयको पत्रानुसार औषधिको मूल्य वृद्धिबारे उजुरीका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।

समितिलाई दिएको मुख्य कार्यादेशमा भनिएको छ, "सो विषयमा के कसो भएको हो, औषधिको मूल्य निर्धारण प्रक्रिया के हो ? उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता भएको हो ? सो समेतका सम्पूर्ण विषय खुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नू"

समितिलाई आवश्यकता अनुसार थप विज्ञ तथा अन्य कर्मचारीहरूलाई आमन्त्रण गर्ने अधिकार समेत दिइएको छ। शाखा अधिकृत दीपेन्द्र दाहालद्वारा हस्ताक्षरित पत्र अनुसार,  चैत २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरिएको हो।

चैत २७, २०८२ शुक्रबार २१:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।