उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार प्रतिनिधिसभामा मत विभाजन हुँदा उनको पक्षमा २२९ मत परेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा शुक्रबारको मत विभाजन प्रक्रियामा २५६ जना सांसद उपस्थित थिए। ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ५ मत परेको थियो भने २२ जना सांसद तटस्थ बसेका थिए।
ठाकुरलाई उनको आफ्नै दल श्रम संस्कृति पार्टीसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए। उनले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्। अर्को प्रतिपक्षी दल एमाले मत विभाजन प्रक्रियामा तटस्थ बसेको थियो।
उपसभामुखकी अर्की उम्मेदवार राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत मात्र परेको छ। प्रतिनिधिसभामा राप्रपाका ५ जना सांसद छन्। लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा २१५ मत खसेको थियो भने ३७ जना सांसदले 'मत दिन्न' (तटस्थ) पक्षमा मतदान गरेका थिए।
नवनिर्वाचित उपसभामुख ठाकुर धनुषा निवासी हुन्। उनका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारीका क्रममा हाल साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी एवं किसान हुन्। उनका पिताले यसअघि इँटाभट्टामा श्रमिकका रूपमा काम गरेका थिए।
ठाकुरले २०७४ सालमा धनुषाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेकी हुन्। उनले धनुषाकै बलरा पोलिटेक्निकबाट सिभिल इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा अध्ययन पूरा गरेकी छन्। राजनीतिमा सक्रिय हुनुअघि उनी आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत थिइन्। उनी 'जेनजी' आन्दोलनपश्चात् श्रम संस्कृति पार्टीमा आबद्ध भई समानुपातिक तर्फबाट सांसद बनेकी हुन्।
चैत २७, २०८२ शुक्रबार १९:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।