उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत मात्र

उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत मात्र

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी बनेकी सरस्वती लामाको पक्षमा पाँच मत मात्रै परेको छ। शुक्रबार प्रतिनिधिसभामा मत विभाजन हुँदा उनको पक्षमा ५ मत मात्र परेको हो।

सभामुख डोलप्रसाद अर्यालले लामाको पक्षमा ५ मत र विपक्षमा २१५ मत परेको प्रतिनिधिसभा बैठकलाई जानकारी गराए। २७५ सदस्यीय प्रतिनिधिसभामा शुक्रबारको मत विभाजन प्रक्रियामा २५७ सांसद उपस्थित थिए। 

लामालाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावमा ३७ सांसदले भने 'मत दिन्न' (तटस्थ) पक्षमा मतदान गरेका थिए। प्रतिनिधिसभामा राप्रपाका ५ जना सांसद रहेका छन्। लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रस्ताव पेस गरेका थिए।

सभामुखले मत विभाजनको प्रक्रियामा भाग लिएका थिएनन्। राप्रपा उम्मेदवार लामाको प्रस्ताव अस्वीकृत भएपछि अहिले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मत विभाजन प्रक्रियामा सुरु भएको छ।

चैत २७, २०८२ शुक्रबार १८:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।