उपसभामुखकी उम्मेदवार रूवीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति

उपसभामुखकी उम्मेदवार रूवीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका तर्फबाट उपसभामुख पदकी उम्मेदवार रूवीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरेकोप्रति आपत्ति जनाएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उम्मेदवार ठाकुरको पक्षमा मतदान गर्न आह्वान गर्ने क्रममा साम्पाङले संसद्‌भित्र साइनोका शब्द प्रयोग नगरी ‘माननीय’को गरिमा कायम राख्न माग गरे।

उनले भने, "हामी यहाँ सबै जना माननीय हौं। पूर्व वक्ता कतिले हाम्रो माननीय रुवीकुमारी ठाकुर ज्यूलाई रुवी बहिनी पनि भनेर यहाँ नेर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस। यहाँ कोही कसैको बहिनी, कोही नातिनी, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबै जना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्दछ भन्ने म माग गर्दछु।"

साम्पाङले केही सांसदहरूले जेष्ठ नागरिकको उमेरलाई लिएर अपमानजनक शब्द प्रयोग गरेकोमा समेत असन्तुष्टि व्यक्त गरे। 

उनले भने, "र यहाँ केही पूर्व वक्ता माननीय ज्यूहरुले जेष्ठ नागरिकलाई अलि अपमान गर्या जस्तो, एउटा खुट्टा कता एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो। त्यो पनि नगरियोस्। हामी जेष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौं। प्रकृतिको नियम हो, हामी जन्मेपछि हुर्कन्छौं, बढ्छौं, बुढो हुन्छौं, मर्छौं। त्यसो भएको कारणले गर्दाखेरि कसैको त्यो जेष्ठ उमेरलाई अपमान गर्ने खालको शब्द आउँदा दिनहरूमा हामी सबैले उच्चारण गर्ने छैनौं भन्ने मलाई आशा छ।"

निर्वाचनका बेला गरिने राजनीतिक आक्षेपहरूलाई संसद्‌मा नदोहोर्याउन आग्रह गर्दै उनले सदनको मर्यादामा जोड दिए। 

उनले भने, "यो एउटा विधि हो, पुरा गर्नुपर्ने नै थियो। त्यसले गर्दाखेरि हामीले यसरी पुरा गर्दैछौं। यो विधि पुरा गर्दाखेरि एकले अर्कालाई आक्षेप लगाउनुपर्ने, त्यो अस्ति हामी चुनेर आउँदाखेरि जे गर्यौं, अब त्यो सकियो। त्यो नगरौं यहाँ। किनभने हामी माननीय भएर आएका छौं। अब आम निर्वाचन जनताले हामीलाई चुन्दाखेरिको अवस्थामा हामीले के-के भन्यौं होला! प्रतिस्पर्धा हो। तर अहिले त्यो भन्दाखेरि यो संसदको मर्यादा रहन्छ जस्तो मलाई लागेन।"

आफ्नो दलकी उम्मेदवार ठाकुर युवा पुस्ता (जेनजी) को प्रतिनिधि भएको र उनी निर्वाचित भएपछि साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे। 

साम्पाङले भने, "हाम्रो उम्मेदवार रुवीकुमारी ठाकुर जेनजी हुनुहुन्छ। यो सम्पूर्ण राजनीतिक युटर्न नेपालमा जे आयो, त्यो जेनजीको आन्दोलनबाट आयो। त्यसो भएको कारणले एउटा जेनजीलाई उम्मेदवारको रूपमा हामीले अगाडि सारेको कुरा म यहाँहरू सबै जनालाई निवेदन गर्न चाहन्छु। अब हामी एउटा प्रक्रियामा जान्छौं। घोषणा हुन्छ, तत्पश्चात् हाम्रो दलबाट उहाँ हामीले गुमाउँदै छौं। उहाँ एउटा संवैधानिक पदमा राज्यको साझा श्रम संस्कृतिको एउटा सांसदको रूपमा नभएर एउटा साझा अभिभावकको रूपमा उपसभामुख जस्तो गरिमामय पदमा रहेर निष्पक्ष ढंगबाट उहाँले कार्य सम्पादन गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।"

चैत २७, २०८२ शुक्रबार १८:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।