रास्वपाले आफ्नै प्रतिबद्धतामा विश्वास गर्न नसकिने नजिर स्थापित गर्यो : खुश्बु ओली
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राजनीतिक नैतिकता र विश्वसनीयताको विषयमा गम्भीर प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उपसभामुख पदका लागि पार्टीको तर्फबाट उम्मेदवार रहेकी सरस्वती लामाको नाममा समर्थन जनाउँदै उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
ओलीले राप्रपाले दिएको उम्मेदवारी कुनै पद प्राप्तिको अभिलाषा मात्र नभई प्रतिपक्षको अधिकार भएको स्पष्ट पारिन्। रास्वपासँगको समझदारीपछि नयाँ ऊर्जाका साथ प्रतिपक्षमा रहेर सहकार्य गर्ने सम्भावनालाई हेरेर राप्रपा अघि बढेको उनले बताइन्।
उनले भनिन्, "यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन, यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ।"
सहकार्यको आधार विश्वास हुनुपर्नेमा वर्तमान राजनीतिमा अविश्वासलाई नै संस्कार र ‘पोलिटिकल करेन्सी’को रूपमा संस्थागत गरिएको ओलीको तर्क थियो। उनले राजनीतिक प्रतिबद्धता परिस्थितिअनुसार बदलिने विकल्प मात्र हो कि त्यसमा कुनै नैतिक दायित्व बाँकी छ भनी प्रश्न समेत गरिन्।
ओलीले भनिन्, "राष्ट्रिय प्रजातन्त्र पार्टी बोलीको पक्का रहँदै आएको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धतामाथि विश्वास गरिहाल्न नसक्ने नजिर स्थापित गरेको छ, यसमा मलाई निकै दुःख लागेको छ।"
रास्वपाको अविश्वसनीय शैलीले राप्रपाको विश्वसनीयतामा समेत असर पुगेको उनले टिप्पणी गरिन्। उनले अगाडि भनिन्, "आजको प्रश्न पदको होइन राजनीतिक आचरणको हो। उहाँहरूको यस किसिमको अविश्वसनीय शैलीले राप्रपाको पार्टीको पनि विश्वसनीयतालाई समेत अनावश्यक रूपमा असर पुर्याउने काम भएको छ।"
उनले उपसभामुखमा रास्वपाले नसघाएको घटनालाई राप्रपाले बिर्सने र माफ गरिदिने बताए पनि भविष्यमा सदनमा यस्तो संस्कार नदोहोरियोस् भनी सचेत गराइन्। उनले भनिन्, "यसलाई राप्रपाले भुली दिनेछ, माफ गरिदिनेछ, तर यस्तो राजनीतिक संस्कार यो सदनमा कहिल्यै पनि नदोहोरियोस्।"
चैत २७, २०८२ शुक्रबार १७:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।