स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी
काठमाडौं : डेन्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ। परिषद्भित्र लामो समयदेखि विद्यमान कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी समस्या समाधान नभएको भन्दै एशोसिएशनले विरोध स्वरूप तालाबन्दीसहित आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो।
परिषद् ऐन २०५३ जारी भएको लामो समय बितिसक्दा पनि ऐनको दफा ४(२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको र नियमित कार्यहरू अवरुद्ध भएको एशोसिएशनको जिकिर छ।
संस्थाका अध्यक्ष माइकल देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "परिषद् ऐन २०५३ जारी भएको लामो समय बितिसक्दा पनि ऐन को दफा ४(२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसक्नु, समयमै सही प्रतिनिधि नियुक्ति नहुनु, विभिन्न पेशागत संघ संगठनहरूको समूहको समावेशी प्रतिनिधित्व नहुनु तथा परिषदका नियमित कार्यहरू अवरुद्ध हुनु अत्यन्त गम्भीर विषय बनेको छ।"
एशोसिएशनले परिषद्भित्र आर्थिक अनियमितता, नातावाद र गैरकानुनी ढङ्गले सदस्यहरूको नियुक्ति गरी ऐनको दफा १०(४) विपरीत कार्यहरू भइरहेको आरोप लगाएको छ।
दर्तावाल स्वास्थ्यकर्मीहरूको सामाजिक र व्यावसायिक मर्यादामाथि प्रहार भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, "केही संस्थाका पदाधिकारीले पदको दुरुपयोग गरी सामान्य कानुनको पालना समेत नगरी दर्तावाल मुख्य स्वास्थ्यमा कार्यरत दन्त स्वास्थ्यकर्मीहरुको मानसिक सामाजिक र व्यावसायिकतामाथि नै गम्भीर असर पार्ने गरी भिडियो खिच्ने, सामाजिक सञ्जालमा हाल्ने, आत्मसम्मानमा चोट पुर्याउने तथा पुरा अनुहार देखाएर बदनाम गर्ने र विना दर्तावाल जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।"
विज्ञप्तिमा उल्लेख भएअनुसार परिषद्मा आवश्यक सदस्य संख्या नपुगेका कारण दर्ता, नवीकरण, र नियमनका कार्यहरू प्रभावकारी हुन सकेका छैनन्। एशोसिएशनले मुख्य रूपमा स्वास्थ्य मन्त्रालयसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न र परिषद् माथि छानबिन गर्न मागसमेत गरेको छ।
मागहरू सम्बोधन नभए कडा संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ। आफ्ना मागहरू पूरा गराउन एशोसिएशनले परिषद्बाट जारी गरिएका लाइसेन्सको प्रतिलिपि बुझाएर धर्ना दिने र माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ।
चैत २७, २०८२ शुक्रबार १७:२३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।