नयाँ र पुराना दलको 'नाभि' जोडिएको छ, साइनबोर्ड मात्र फरक हो : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफ्नो दलको प्राथमिकतामा नरहेको स्पष्ट बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले रास्वपाका सभापति रवि लामिछानेबाट प्रस्ताव आएपछि मात्र उपसभामुख पदमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेको बताए।
तर, आफ्नो दलको तर्फबाट परेको उम्मेदवारीले राजनीतिक ध्रुवीकरण र दलहरूको वैचारिक चरित्र भने स्पष्ट पारेको उनको भनाई छ। उनले राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै यसै व्यवस्थाको विकल्प खोज्ने संवर्द्धनवादी शक्ति भएको उल्लेख गरे।
शाहीले भने, "हामीले नेपालमा संवर्द्धनवादको महत्त्वपूर्ण पार्टको रूपमा रहेको राजसंस्थासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापना र आर्थिक हिसाबले बोझिलो र मुलुकमा आवश्यकताबिना भित्र्याइएको संघीयताको खारेजी जस्ता शासकीय स्वरूपमा आमूल परिवर्तनका मुद्दाहरू बोकेको हुँदा केवल एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन र छैन पनि।"
संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि पुराना र परिवर्तनकारी भनिएका दलहरूबीचको ध्रुवीकरणलाई मध्यनजर गर्दै उम्मेदवारी दिने निर्णयमा पुगेको उनको भनाई थियो। शाहीले भन्नुभयो, "हिजो बिहान एकातिर उपसभामुखको निर्वाचन सम्बन्धी छलफलमा अन्य विपक्षी दलहरूले राप्रपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने अर्कोतर्फ रास्वपा सभापतिबाटै सहयोगको आश्वासन पछि राप्रपा संसदीय दलको सर्व सहमतिको निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौं।"
आफ्नो दलको उम्मेदवारीले राजनीतिक 'कित्ता' स्पष्ट पारेको दाबी गर्दै उनले नयाँ र पुराना भनिएका दलहरूको चरित्र एउटै भएको आरोप लगाए। शाहीले भने, "आजको हाम्रो उम्मेदवारीले राजनीतिक रूपमा स्पष्ट कित्ता क्लियर बनाएको छ। हिजोका पुराना भनिएका दल र अहिलेका उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भएता पनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभि एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ।"
चैत २७, २०८२ शुक्रबार १६:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।